बीरगन्ज,०६ असार । बारामा दुई दशकभन्दा बढी समयदेखि फरार रहेका एक हत्या अभियुक्त अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्। २१ वर्षअघि भएको हत्या घटनामा संलग्न आरोपमा प्रसौनी गाउँपालिका–५ निवासी ४८ वर्षीय श्यामबाबु प्रसाद चौरसियालाई पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ साल असोज ३ गते साविक मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८) का ४० वर्षीय सितलप्रसाद चौरसियाको हत्या भएको थियो। उनी नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जबाट ड्युटी सकेर घर फर्किने क्रममा साविक प्रसौनी गाविस–५ (हाल प्रसौनी गाउँपालिका–१) स्थित दुधौरा खोलाको बगरमा आक्रमणमा परेका थिए।
प्रारम्भिक अनुसन्धानले जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण हत्या भएको देखाएको थियो। घटनामा संलग्नमध्ये श्यामबाबु प्रसाद चौरसियाले मृतकको घाँटी काटेर हत्या गरेको प्रहरीको निष्कर्ष छ।
घटनापछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले गत जेठ १३ गते पक्राउ गरेको थियो। अनुसन्धान प्रक्रिया पूरा गरी असार ५ गते बारा जिल्ला अदालतमा पेश गरिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
लामो समयपछि भए पनि अभियुक्त पक्राउ परेपछि उक्त घटनामा न्यायिक प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।




