काठमाडाै,०६ असार । उदयपुरमा शनिबार बिहान स्कुलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ स्थित जोगिटोल क्षेत्रमा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार बस अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका निवासी बिमलेश दत्तको उपचारका क्रममा बिहान ९:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। अन्य २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बसमा सवार अन्य दुई जना भने सकुशल रहेका छन्।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




