जनकपुर,०६ असार । सप्तरीमा पत्रकार देवराम यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ सप्तरी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
गोरखापत्र दैनिकका संवाददाता, प्रेस स्वतन्त्रता सेनानी तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य यादवमाथि महदेवा गाउँपालिकासम्बन्धी समाचार लेखेको विषयलाई लिएर आक्रमण भएको बताइएको छ। महासंघका अनुसार गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले उनीमाथि कुटपिट गरेको हो।
पत्रकार यादवले दिएको जानकारीअनुसार हुलाकी राजमार्गअन्तर्गत खाँडो पुल क्षेत्रमा बसिरहेका बेला सुरेन्द्र यादवसहितको समूहले एक्कासी आक्रमण गर्दै हेलमेट प्रहार गरी कुटपिट गरेको थियो।
घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी शाखाले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात भएको जनाएको छ। महासंघले नागरिकको सुरक्षा, व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि हुने यस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।
महासंघका सचिव डम्बर राईले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासन तथा नेपाल सरकारसँग माग गरेका छन्। साथै घाइते पत्रकार यादवको उपचारमा आवश्यक सहयोग गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
कुटपिटबाट घाइते भएका पत्रकार यादवको हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।




