जनकपुर,०६ असार । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा रु ३० अर्ब १७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ। प्रदेश अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कुल रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व प्राप्त भएको हो।
मन्त्रालयका अनुसार प्रदेशको आन्तरिक राजस्व सङ्कलन रु ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार पुगेको छ। आन्तरिक राजस्वको प्रमुख स्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर रहेका छन्। ११ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट रु १ अर्ब १८ करोड १२ लाख ९५ हजार तथा सवारीसाधन करबाट रु २ अर्ब १ करोड ५० लाख ५० हजार राजस्व सङ्कलन भएको छ।
त्यसैगरी, सवारी चालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रबाट रु ११ करोड १० लाख ५९ हजार र दहत्तर–बहत्तर बिक्रीबाट रु १० करोड ९ लाख ३५ हजार आम्दानी भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले सङ्घीय सरकारबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर (भ्याट) बापत रु ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार र अन्तःशुल्क करबापत रु २ अर्ब ७७ करोड ४१ लाख प्राप्त गरेको छ। साथै समानीकरण अनुदानअन्तर्गत रु ७ अर्ब ६ करोड १६ लाख ७८ हजार, सशर्त चालु अनुदानतर्फ रु २ अर्ब १७ करोड २७ लाख ७२ हजार तथा सशर्त पुँजीगत अनुदानतर्फ रु १ अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार आर्थिक तरलता, घरजग्गा तथा नयाँ सवारीसाधनको खरिद–बिक्रीमा आएको मन्दी, साथै गत भदौमा भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो।
यद्यपि चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि प्रदेश सरकारले उल्लेखनीय राजस्व सङ्कलन गर्न सफल भएको मन्त्रालयको दाबी छ।




