काठमाडाै,०६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना हुने भएको छ। असार ५ र ६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, सांसद तथा सबै भातृ संगठनका अध्यक्षहरू रहने व्यवस्था गरिएको छ।
बैठकले आवश्यकताअनुसार थप उपसमितिहरू गठन गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिएको छ। यसमा सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन नियमावली तथा पार्टीको निर्वाचन निर्देशिका समावेश छन्।
नयाँ कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। त्यस अवधिभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्।
त्यसैगरी असोज १५ देखि २४ गतेसम्म सातै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गरिने र सो अवधिसम्म सदस्यता लिएका व्यक्तिहरू मात्र महाधिवेशन प्रतिनिधि बन्न योग्य हुने व्यवस्था गरिएको छ।
कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय समितिमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ। चयन भएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र सचिवालयमा पठाउनुपर्नेछ। साथै, प्रतिनिधि छनोटमा युवाको अनिवार्य सहभागिता सुनिश्चित गरिने राप्रपाले जनाएको छ।
पार्टीले राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा आफ्नो नीति, विचार र सिद्धान्तको आवश्यकता अझ बढेको निष्कर्ष निकाल्दै आफ्ना सदस्यहरूलाई उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गरेको छ।




