बीरगन्ज,०६ असार । सर्लाहीको बागमती नगरपालिका–७ मा बागमती खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् भने तीन जना सकुशल रहेका छन्।
शुक्रबार साँझ बागमती खोलामा पौडी खेल्न गएका बागमती नगरपालिका–७ का सरगम माझीका ६ वर्षीय छोरा सफल माझीलाई बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाबारे शनिबार बिहान करिब ६:३० बजे मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो। त्यसपछि बेपत्ता बालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार स्थानीयवासी, प्रहरी चौकी राजघाट, इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी कार्य जारी छ।
सफलसँगै पौडी खेल्न गएका अन्य तीन बालक भने सुरक्षित रूपमा घर फर्किएको प्रहरीले जनाएको छ।
बर्खायाम सुरु भएसँगै बागमती नदीसहित जिल्लाका विभिन्न खोलामा आकस्मिक बाढी आउने सम्भावना बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।




