हेटौँडा,०७ असार । मकवानपुरको हेटौँडाबाट खैरो हिरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराको संयुक्त टोलीले ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा १८ वर्षीय अशोक गुरुङ, ४६ वर्षीय रामजी बानियाँ र २४ वर्षीया अञ्जली तामाङ (क्रान्ती देवी घलान) रहेका छन्। उनीहरूलाई हेटौँडाका विभिन्न स्थानबाट छुट्टाछुट्टै समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अशोक गुरुङबाट ५२० मिलिग्राम खैरो हिरोइन र नगद बरामद गरिएको छ। त्यस्तै रामजी बानियाँको कोठाबाट १२ ग्राम ३८० मिलिग्राम खैरो हिरोइन र नगद फेला परेको छ भने अञ्जली तामाङबाट ५ ग्राम १७० मिलिग्राम खैरो हिरोइनसहित नगद बरामद गरिएको छ।
पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस कारोबारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।




