spot_img

जीतपुरसिमरामा वन्यजन्तु तथा सर्प उद्धारसम्बन्धी तालिम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०७ असार ।  मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार कार्य सञ्चालन गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका ले नगर प्रहरी र प्राविधिक जनशक्तिका लागि दुईदिने वन्यजन्तु तथा सर्प उद्धारसम्बन्धी तालिम सम्पन्न गरेको छ।

पर्सा राष्ट्रिय निकुञ्ज को प्राविधिक सहजीकरणमा आयोजित तालिममा वन्यजन्तु तथा सर्पसँग सम्बन्धित जोखिम व्यवस्थापन, उद्धार प्रविधि, संरक्षणका उपाय तथा सुरक्षा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

उपमहानगरपालिकाका अनुसार तालिमको मुख्य उद्देश्य नगर क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु सम्पर्कका घटनालाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्न सक्षम जनशक्ति तयार गर्नु हो। तालिममा सहभागीहरूलाई विभिन्न प्रजातिका सर्पको पहिचान, विषालु र अविषालु सर्पबीचको भिन्नता, उद्धारका क्रममा अपनाउनुपर्ने सुरक्षा सावधानी तथा उद्धारपछिको व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो।

सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्याससमेत समावेश गरिएको तालिममा पछिल्लो समय बस्ती क्षेत्रमा सर्प तथा वन्यजन्तुको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षित उद्धार र व्यवस्थापनका उपायहरूमा विशेष जोड दिइएको थियो।

कार्यक्रमका प्रशिक्षक तथा विज्ञहरूले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न दक्ष तथा प्रशिक्षित जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका थिए। साथै, तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर समुदायको सुरक्षा र वन्यजन्तु संरक्षणमा योगदान पुर्‍याउन सहभागीहरूलाई आग्रह गरिएको थियो।

नगर प्रहरी, प्राविधिक कर्मचारी तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमले आगामी दिनमा वन्यजन्तु तथा सर्प उद्धार कार्यलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय