spot_img

सरकारी गाडीमा प्राइभेट माया? भाइरल जोडीको फोटोमा मेयरको गाडी

spot_img
spot_img

काठमाडौँ : “सरकारी गाडी, सरकारी तेल, अनि माया चाहिँ प्राइभेट?”

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फेसबुक र ट्विटरमा हजारौँ पटक एउटा गाडीमा पोज दिइरहेको नवदम्पतिको फोटो सेयर भएको छ।

‘एक जोडीले सरकारी गाडी दुरूपयोग गरेर बिहेको फोटोसुट गरेछन्, अब हनिमुन चाहिँ सिंहदरबार गएर मनाउने होलान्’, ट्विटरमा चोपेन्द्र भुसाल नामका प्रयोगकर्ताले लेखेका छन्। व्यङ्ग्य र आलोचना मिश्रित यस्ता प्रतिक्रियाहरु अनगिन्ति छन्।

नदी छेउ जस्तो देखिने गाडीमा बेहुला गाडीभित्र छ भने उसको हात समातेकी बेहुली गाडी बाहिर छिन्। फोटो पोजका कारण भाइरल भएको होइन। गाडीको नम्बर प्लेटले सबैको ध्यान तान्यो। नम्बर प्लेट रातोमा सेतो अर्थात् निजी भएको भए यो अरु जस्तै सामान्य फोटो नै हुने थियो तर थियो सेतोमा रातो अर्थात् सरकारी।

स्टार फोटो स्टुडियोले सुरुमा अपलोड गरेको फोटो। 

सामाजिक सञ्जालमा कसैले पनि यो कसको गाडी हो र फोटोमा देखिएका पात्र को हुन् भन्ने बारे लेखेका छैनन्। फोटो सही त हो? कसैले फोटोसप गरेर गाडीको नम्बरप्लेट परिवर्तन त गरेका हैनन्? यो कहिलेको फोटो हो?

पहिलोपोस्टले फ्याक्टचेक गर्ने क्रममा यो सक्कली फोटो भएको पत्ता लागेको छ। बा २ झ १६५० नम्बरको सरकारी स्कर्पियो गाडी मेलम्ची नगरपालिकाको हो।

मेयर डम्बर अर्यालले यो गाडी चढ्छन्।

नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले पहिलोपोस्टलाई भने, यो गाडी हाम्रै प्रमुखको हो। ‘तर यसरी गाडीमा मेयर साबका मान्छे कसैले पनि फोटो खिच्नुभएको छैन’, उनको दावी थियो।

फोटोमा देखिएका बेहुला किरण पण्डित हुन् भने बेहुली किरण लामा हुन्। काठमाडौँको एउटा पाँच तारे होटलमा सँगै काम गर्ने क्रममा दुवैबीच बसेको प्रेम वैशाख ७ गते विवाहमा परिणत भएको थियो।

हामीले फोटो खिच्ने फोटोग्राफर पनि भेट्टायौँ। काठमाडौं सिनामंगलस्थित स्टार फोटो स्टुडियोका क्यामरा पर्सन अमृत सुर्खेतीले उनीहरुको फोटो सेसन गर्ने क्रममा यो भाइरल भएको फोटोसमेत खिचेका थिए।

पहिलोपोस्टसितको कुराकानीमा सुर्खेतीले भने, ‘काठमाडौँको थलीमा विवाह भोजको समयमा मैले नै लगेर खिचेको हुँ।’

विवाहको भोलिपल्ट पार्टीको क्रममा फोटो सेसन गरिएको थियो।

वैशाख ८ गते मेलम्चीका मेयर डम्बर अर्याल भोज खान पुगेका थिए। सुर्खेतीले भने, ‘पाहुनाले ल्याएको गाडीमा मैले नै लगेर खिचेको हुँ।‘
फोटो खिचेपछि फोटोग्राफर सुर्खेतीले नै आफ्नो फोटो स्टुडियोको नामबाट खोलिएको फेसबुक पेजमा पोस्ट गरेका थिए।

पोस्ट हुने बित्तिकै सरकारी नम्बर प्लेटका कारण धेरैको ध्यान तानियो। उनी भन्छन्, ‘पोस्ट गरेको केही समयमा नै गाली आउन थाल्यो।‘
गाली गर्नेमा बेहुला पनि थिए। ‘एक घण्टा पनि राखिनँ होला। बेहुलाले फोन गरेर गाली गर्नुभयो। त्यसपछि मैले हटाएँ।‘

तर इन्टरनेटमा एक पटक राखिसकेको फोटो त्यति सजिलै कहाँ मेटिन्छ र ! अरुले यो फोटो कपी गर्दै राख्न थाले। फोटो भाइरल हुनपुग्यो।
‘यही फोटोको कारण एकदम गाली खाएँ’, फोटोग्राफर सुर्खेतीले भने, ‘गाडी दुरुपयोग भएको होइन। फोटो मात्र खिचेको हो।’

उनले आफूले यही कारण गाली खाइरहेकाले सही समाचार लेख्न आग्रह गरे।

अहिले उनले आफ्नो फोटो स्टुडियोको फोटोमा त्यो फोटो हटाएर ती जोडीका अर्कै पोजका फोटो राखेका छन्। तर सामाजिक सञ्जालमा ती दुईको फोटो राख्दै गाली गर्ने क्रम जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय