काठमाडौं, २५ वैशाख – नेपालमा वैदेशिक व्यापारको असन्तुलन उत्कर्षमा पुगिरहँदा चालु आर्थिक वर्षले पनि सरकारलाई कुनै राहत नदिने भएको छ । चालु आव २०७५/७६ को पहिलो ९ महिनाको आँकडाले झन् बिग्रदो अवस्थाको संकेत गर्छ ।
साउनदेखि चैतसम्मको अवधिमा कुल वस्तु आयात २१ प्रतिशतले बढ्दा निर्यात वृद्धिदर १६ प्रतिशतमा सिमित रह्यो । यो अवधिमा १० खर्ब ६१ अर्बको वस्तु तथा सेवा आयात हुँदा ६९ अर्बको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ८ खर्ब ७२ अर्बको आयात भएको थियो भने ५९ अर्बकै निर्यात थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.८ प्रतिशत छ भने निर्यातको हिस्सा ६.२ प्रतिशत मात्रै छ । आयात-निर्यात अनुपात यो वर्ष बढेर १५.२ प्रतिशत पुगेको छ । यसअनुसार नेपालले ९४ रुपैयाँको वस्तु आयात गर्दा मुस्किलले ६ रुपैयाँको वस्तु निर्यात गरिरहेको देखिन्छ ।
यो अवधिमा ११ खर्ब ३१ अर्बको वैदेशिक कारोबार भएको छ, २१ प्रतिशतको बढोत्तरी हो । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा भारतसँग मात्रै ६ खर्ब ४२ अर्बको ब्यापार घाटा छ । भारतमा ४४ अर्बको निर्यात हुँदा ६ अर्ब ८६ अर्ब बराबरको वस्तु तथा सेवा आयात भएको छ । चीनसँग १ खर्ब ५२ अर्बको ब्यापार घाटा देखिन्छ । डेढ अर्बको वस्तु चीन पठाएको नेपालले त्यहाँबाट १ अर्ब ५३ अर्बको आयात गरेको छ ।
धेरै ब्यापार घाटा हुने मुलुकमा त्यसपछि युएई छ । युएईमा जम्माजम्मी ११ करोडको निर्यात गरेको नेपालले त्यहाँबाट झण्डै २६ अर्ब ८१ करोड अर्बको वस्तु ल्याएको छ । युएईसँग २६ अर्ब ७० करोडको ब्यापार घाटा देखिन्छ ।
फ्रान्सबाट १७ अर्ब ३६ करोडको आयात र ९६ करोडको निर्यात हुँदा १६ अर्ब ४० करोडको ब्यापार घाटा देखिएको छ । यस्तै, इन्डोनेसियासँग १२ अर्ब ९४ करोड, थाइल्यान्डसँग १० अर्ब ७९ करोड र क्यानडासँग ९ अर्ब ५१ करोडको ब्यापार घाटा छ ।
नेपालबाट पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको भन्सार विभाग बताउँछ । अलैँची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात भने घटेको छ ।
यस्तै पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
यो ९ महिनाको अवधिमा सबै भन्सार नाकाबाट वैदेशिक ब्यापार बढेको छ । सबैभन्दा बढी वृद्धि विराटनगर नाकामा देखियो । विराटनगरको रानी नाकाबाट हुने ब्यापार २९ प्रतिशतले बढ्दा वीरगञ्ज नाबाबाट हुने ब्यापार पनि २१ प्रतिशतले वृद्धि भएको छ ।
के के घटे ?
आयात दर बढिरहँदा केही वस्तुहरुको आयात भने घटेको पाइएको छ । सवारी कर्जालाई सरकारले कसेपछि साना सवारीको आयात निकै कम भएको छ । भन्सार विभागकी उपमहानिर्देशक मनमाया पंगेनी भट्टराई यो अवधिमा सवारी आयातमा २ हजारको संख्याले कमी आएको बताउँछिन् । यो वर्ष कृष्णनगर नाकाबाट हुने क्लिंकर आयात पनि घटेको छ । पेट्रोलियम पदार्थको आयातको वृद्धिदर पनि सुस्ताएको छ । मेसिनरी आयातको वृद्धिदर गत बर्षको जस्तो उत्साहजनक छैन ।
यो वर्ष सरकारले ५५ अर्ब बराबरको वस्तुमा भन्सार छुट पनि दिएको छ । गत वर्ष ९ महिनको अवधिमा ४२ अर्ब बराबरको वस्तुलाई भन्सार छुट दिइएको थियो । यो वर्ष भन्सारमा गलत घोषाणा गरेर वस्तु छुटाउने क्रम पनि केही कम भएको दावी भन्सार अधिकारीहरुको छ ।
यो वर्ष ९ महिनमा विभागले २ खर्ब ७० अर्ब ६१ करोड भन्सार राजश्व उठाएको छ । जुन गत वर्षको यही अवधिको भन्दा २३ प्रतिशतले बढी हो ।