जनकपुरधाम, ३१ वैशाख — प्रदेश २ को सरकारका मन्त्रीहरूले १५ महिना बित्दासम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।
आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नबलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले सम्पत्ति विवरण बुझाएका ैनन्।
सुशासन ऐनमा सार्वजनिक पदधारण गरेका व्यक्तिले आर्थिक वर्ष शुरू भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
१३ सदस्यीय मन्त्रिमण्डलमा अन्य मन्त्रीले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन् । मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक नगर्न कडा निर्देशन दिएको कर्मचारीले बताए ।
प्रदेशसभाका १८ सदस्यले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाएका प्रदेशसभा सदस्यको नाम प्रदेशसभा सचिवालयले उपलब्ध गराउन मानेन ।
प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये ५० जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा धनुषाका ५ स्थानीय तहका जनप्रतिनिधि छन् ।