
“स्वच्छ वायु, स्वस्थय जीवन” मुल नाराका साथ आज बुधवार विश्व वाताबरण दिवस मनाईदैछ । प्रसंग शुरु गरौं एउटा प्रचलित कथाबाट । एक राजा थिए । उनी महलबाट बाहिर निस्किदैन थे । राज्यको कामकाज मन्त्रि सन्त्रिले गर्थे । राजालाई निस्कन परे लावालस्करका साथ रथमा सवार भएर निस्कन्थे । राजालाई महल बाहिर खाली खुट्टा निस्कन मन लागेछ । उनी एकदिन खाली खुट्टा पैदल निस्के । महल क्षेत्रभन्दा केही पर गएकै थिए कि राजालाई खाल्डा खुल्डी सडकमा धुँवा, धुलोले गर्दा श्वास फेर्न कठिन हुनुका साथै उनको पैतालामा स–साना ढुँगाहरु गड्यो । राजा क्रोधित भए । र, मन्त्रिलाई आदेश दिँदै भने, “ म जुनदिन खाली खुट्टा महल बाहिर निस्कन्छु त्यसदिन म गुज्रने क्षेत्रमा जल बर्षा गराउनु र सडकहरुमा छाला बिछ्याउनु”।
उपरोक्त कथामा राजा स्वार्थी देखिए । उनलाई आफ्नो स्वास्थको मात्र ख्याल भएछ । नागरिक कसरी बाँचिरहेका छन् ? धुँवा–धुलो र प्रदुषणले नागरिकलाई कति सास्ती होला भन्ने राजालाई के मतलब ?
माथि उल्लेख गरिएको कथाको पात्र राजा भन्दा के फरक छ र आजका स्थानीय जनप्रतिनिधिहरुमा ? प्रकृतिले मानिसलाई निःशुल्क प्रदान गरेको अति नै महत्वपूर्ण पदार्थ– हावा, पानी र जमिन हुन् । भौतिकवादी युगमा भौतिक प्रगति र विकास गर्ने क्रममा वातावरणीय विनाश पनि मानवीय कारणले नै हुँदै आइरहेको छ । एक सेकेन्ड पनि प्रयोग नगरी बस्न नसकिने वायु प्रदूषण अत्यधिक रूपमा भइराखेको छ । अतः त्यसको रोकथामका लागि पनि तत्पर हुनु हामी सबैको कत्र्तव्य हो ।
विश्व बातावरण दिवसको अवसरमा स्थानिय तहका राजाहरु आ–आफ्नो महलबाट एसी जडित गाडीमा सवार भएर वृक्षारोपणको लागि निस्केका होलान् । एउटा व्यानर र केही विरुवाहरुको नाममा लाखौं सिद्घयाईने छ । फोटाहरु खिचाईने छ र सामाजिक सन्जालमा पोष्ट गरिने छ । दिवस आयो गयो, प्रदुषण न्यूनीकरणको प्रयास हुँदैन ।
पर्सा बारा लगायत प्रदेश २ का ग्रामिण इलकाहरुबाट कामकाजका लागि शहर छिर्ने आमनागरिक श्वास फेर्दा प्रदुषित वायु ग्रहण गर्न बाध्य छन् । स्वच्छ वायुमा मानव शरीरलाई चाहिने अक्सिजनको मात्रा आवश्यकता अनुसार रहेको हुन्छ भने दूषित वायुमा अक्सिजनको मात्रा कम भई अरु ग्याँसले हावामा ठाउँ पाउँछ, पाइरहेको छ । हानिकारक ग्याँस, दूषित पानीका कणहरू र जैविक पदार्थहरूको समिश्रणले वायु दूषित हुन्छ । मानिसलाई लाग्ने विभिन्न रोग विशेषतः श्वास–प्रश्वास सम्बन्धी रोगको मुख्य कारण नै प्रदूषित वायु हो । धुलाम्मे सडकहरूले पनि वायु प्रदूषणमा बढी सहयोग गरिराखेको छ । विभिन्न उद्योग कलकारखाना तथा इँटाभट्टाहरू वायु प्रदूषणका मुख्य सम्वाहक हुन् । फोहोरसँगै प्लाष्टिक बाल्ने प्रवृत्तिले पनि वायु प्रदूषणमा ठूलो भूमिका खेलेको छ । विगतमा पटक पटक भएका आन्दोनहरुमा बालिएका टायरहरुले राज्यको आकाशलाई कम प्रदुषित गरेको छैन । जसको परिणाम हामी सबैले भोग्नैपर्ने हुन्छ । टायर बाल्ने मात्र हैन शुद्ध वातावरणको हकमा रुख विरुवा पनि रोप्न त्यतिकै चाँसो लिनुपर्ने हो । बिगार्न मात्र हैन, सपार्न पनि तत्परता देखाउनु जरुरी छ ।
वीरगन्जं, जनकपुर लगायत प्रदेश २ का अन्य शहरी क्षेत्र प्रदुषणको चपेटामा छन् । यही गतिमा वायु प्रदूषण बढ्दै जाने र न्युनीकरणका लागि अहिलेको जस्तै शून्यताको अवस्था रहिरहने हो भने केही दशकपछि यसले उग्ररूप धारण गर्न सक्छ । विश्व स्वास्थ्य संगठनको सन् २०१४ को एक अध्ययनले संसारभरि ७० लाख मानिसको मृत्यु प्रदूषित वायुको कारणले भएको थियो । संगठनका अनुसार स्वच्छ वायुमा ७८.०९ प्रतिशत नाइट्रोजन २०.९ प्रतिशत अक्सिजन, ०.९३ प्रतिशत आर्गन र ०.०४ प्रतिशत कार्बन डाइअक्साइड र धेरै कम मात्रामा अन्य ग्याँस रहेको हुन्छ । हावामा केही मात्रामा पानीका कण पनि हुन्छन्, जुन समुद्र क्षेत्रमा १ प्रतिशत र अन्य स्थानमा ०.४ प्रतिशत हुन्छ ।
शहरी क्षेत्रमा भइराखेको उच्च जनसंख्या वृद्धिदर, अव्यवस्थित कलकारखाना, अस्तव्यस्त र धुलाम्मे सडक, फोहोर–मैलाको उचित संकलन र व्यवस्थापन हुन नसक्नु, पुराना यातायातका साधनहरूको प्रयोग आदि वायु प्रदूषणका मुख्य कारकतत्व हुन् ।
अतः यिनलाई व्यवस्थित गर्न शहरी क्षेत्रमा बढ्दो जनघनत्वलाई कम गर्न रित्तिएका गाउँमा मानिस पुनः फर्किने र त्यहाँ पुँजी भित्रिने सुविधा समपन्न वातावरण मिलाउनु आवश्यक भैसकेको छ । यसका लागि अन्य साना शहरहरुलाई सुविधा सम्पन्न बनाउन ढिला गर्नु हुँदैन ।
अव्यवस्थित कलकारखानालाई व्यवस्थित गरी कम प्रदूषण हुने संयन्त्रको स्थापना कार्यलाई प्रभावकारी ढङ्गले लागू गर्नुपर्छ । वीरगन्ज लगायत देशभरिका विना योजनामा बनेका अस्तव्यस्त सडकहरू र उप्केका पिच सडकहरूको मर्मत–सम्भार फाष्ट ट्रयाक पद्धतिबाट गर्नु आवश्यक छ । शहरी क्षेत्रमा जम्मा हुने फोहोर–मैला व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल्ड साइटको विकास गर्नु आवश्यक छ । शहरी क्षेत्रमा गुड्ने पुराना सवारी साधनहरूलाई प्रतिस्थापन गरी सवारी दर्ता नियन्त्रण र विद्युतीय सवारी साधनलाई प्रश्रय दिनु आवश्यक छ । स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा पर्ने शहरसँग जोडिने मुख्य सडकमा पानी छर्कनु राम्रो हुनेछ । सरकारले वृक्षारोपणका लागि कमसेकम प्रति व्यक्ति एक विरुवा रोप्नु पर्ने अभियान नै चलाउनु पर्छ । अनि मात्र विश्व वातावरण दिवसको सार्थकता अनुभुति गर्न सकिन्छ । सबैमा विश्व वातावरण दिवसको शुभकामना !




