बीरगन्ज, २१ बैशाख – महामारीको बेला जारी लकडाउनको मौका छोपी दालको कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको आदेशमा पाँच आरोपीलाई आज धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये नारायणी मोर्डन पल्सेस इण्डष्ट्रिज, परवानीपुरका प्रोपाईटर बीरगन्ज वडा नं. ६ निवासी मोहनलाल अग्रवाल १८ लाख ५० हजार र सोही उद्योगका प्रतिनिधि भारतको राजस्थान निवासी सुनिल शर्मा एक लाख पचास हजार धरौटीमा रिहा भएका छन् ।
त्यस्तै, श्रीकृष्ण आधुनिक दाल उद्योग छातापिपराका प्रोपाईटर बीरगन्ज वडा नं. ६ निवासी पवन कुमार साह १९ लाख १७ हजार र सोही उद्योगका प्रतिनिधि भारत बिहारका सुरेश प्रसाद १ लाख पचास हजार रुपैंया धरौटीमा रिहा भएका हुन् ।
यसैगरी, दालको कालोबजारीको आरोपमा पक्राउ परेका महाविर ओभरसिज प्रालि परवानीपुरका प्रोपाईटर बीरगन्ज वडा नं. १० निवासी मुक्ति कुमार अग्रवाल २१ लख ६५ हजार र सोही उद्योगी प्रतिनिधि धनुषा जिल्ला निवासी सन्तोष कुमार झा एक लाख पचास हजार रुपैंया धरौटी बुझाएर रिहा भएका छन् ।
बीरगन्ज पथलैया करिडोर अन्र्तगत रहेका यी उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको पाईएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले गते बैशाख १४ गते पक्राउ गरेको थियो ।
अनुगमन समितिको प्रतिवेदनका आधारमा पक्राउ परेका उनीहरुमाथि कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन २०३१ बमोजिम मुद्दा दर्ता भई अनुसन्धान चलिरहेको थियो ।

