जनकपुर — जनकपुरमा पनी दुई घण्टा पसल खोल्ने सहमति भएको छ। जनकपुर जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुर उद्योग वाणिज्य संघ तथा चेम्बर्स आफ कमर्सबीच १० बजेदेखि १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ।
शुक्रबार बिहान जनकपुरधामका व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका अधिकारीहरुबीच भएको छलफलले १० बजेदेखि मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी निरौलाले ग्राहकहरु बीच दूरी कायम गर्ने र सेनिटाइजर, मास्कलगायत सुरक्षाका सामग्री प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने सहमति भएको जनकपुर चेम्बर्स आँफ कमर्सका उपाध्यक्ष सरोज मिश्रले बताए।
उनले भने, ‘दुई महिना देखि पसल खुलेको छैन्। सटर भाडा चर्को महँगो छ, पसल बन्द राखेर भाडा तिर्न सकिन्न। त्यसैले थोरै राहतका लागि भएपनि बजार खोल्न प्रशासनलाई आव्हान गर्यो र वहाँहरु सकारात्मक हुनुभयो।’
सैलून, ब्यूटी पार्लर, सिनेमाहल, होटल र रेष्टुरेन्टहरुको हकमा हाललाई कुनै निर्णय नभएको र यथाशीघ्र अन्य क्लस्टर तर्फ पनि बिचार गरिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले जानकारी दिए। उनले भने, ‘निर्धारित समय भन्दा अघि वा पछि जबर्जस्ती पसल खोले कानून बमोजिम कारवाही गरिनेछ।’
यता कोरोना संक्रमणको महामारीबाट बच्न गरिएको लकडाउन १० देखि १२ बजेसम्म पसलहरु सञ्चालनको समाजिक सञ्जालमा व्यापक बिरोध भइरहेको छ। समाजिक सञ्जालमा अन्य समयमा कोरोना संक्रमण हुने तर १० बजेदेखि १२ बजेको समयमा कोरोना संक्रमण नहुने प्रशासनको वितर्कपूर्ण निर्णय भएकोमा बिरोध भइरहेको छ।

