धनुषा : धनुषाको सबैला नगरपालिका निवासी अरुण मण्डलको हत्यामा संलग्न युवक श्रवण मण्डल लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको टोलीले गोली हानेर हत्या गरेकाे आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का १९ वर्षीय श्रवण मण्डललाई पक्राउ गरेको हो।
जेठ २७ गते राति धनुषाको सबैला नगरपालिका ७ निवासी अरुण मण्डलको गोली हानी हत्या गरिएको थियो।
मादक पदार्थ सेवन गरी भएको सामान्य विवादले श्रवणले अरुणलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताउनु भयो ।
उहाँका भनाई अनुसार घरभन्दा २ सय मिटर पर एउटा पोखरीको किनारमा घटना भएको थियो। यस घटनामा अन्य चार जना पनि संलग्न रहेको कुरा खुलासा भएको छ ।
हत्यामा संलग्न अन्यकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

