अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

spot_img

चितवन,१४ वैशाख । जिल्लाका सरकारी तथा निजी अस्पतालहरूको सेवा गुणस्तरमा सुधार ल्याउन प्रशासनले कडा निर्देशन दिएको छ।

गणेश अर्यालले अस्पताल सञ्चालक र व्यवस्थापकहरूसँगको बैठकमा बिरामीप्रति संवेदनशील व्यवहार गर्न र नियमअनुसार सेवा सञ्चालन गर्न स्पष्ट निर्देशन दिएका हुन्।

उनले अस्पतालहरूमा चिकित्सकको व्यवहार, सेवाको पारदर्शिता र व्यवस्थापनमा कमजोरी देखिएको औँल्याए। दर्ता नगरी डायलासिस सेवा सञ्चालन, एम्बुलेन्समार्फत कमिसन प्रचलन, अस्पतालजन्य फोहोर व्यवस्थापनमा लापरबाहीजस्ता समस्या रहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी अर्यालले बीमा र नगद बिरामीबीच विभेद हुने, अनावश्यक परीक्षण गरिने, विपन्न वर्ग र ज्येष्ठ नागरिकले अपेक्षित सुविधा नपाउने जस्ता गुनासाहरू पनि उल्लेख गरे। साथै, सरकारी अस्पतालमा टोकन प्रणाली कमजोर हुनु, बहिरङ्ग सेवामा जनशक्ति व्यवस्थापन प्रभावकारी नहुनु र रिफरल प्रणाली व्यवस्थित नभएको उनको भनाइ थियो।

“अस्पतालको सेवा शैली र व्यवहार दुवै सुधार्न आवश्यक छ,” उनले जोड दिए। कार्यक्रम जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालमा भएका सुधार र चुनौतीबारे प्रस्तुति दिएका थिए।

त्यसैगरी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सुधार आएको दाबी गर्दै अझै सेवा विस्तारका लागि सरकारी सहयोग आवश्यक रहेको बताए।

निर्मल घिमिरेले कानुनी प्रावधानअनुसार सेवा सञ्चालनमा अझै कमी रहेको उल्लेख गरे भने निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रको लगानीलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरे।

कार्यक्रममा निजी अस्पताल, क्लिनिक सञ्चालक तथा यातायात व्यवसायीहरूले पनि स्वास्थ्य सेवा सुधारका लागि सुझाव दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय