सन्तोष साह/वीरगंज । विश्वव्यापी रुपमा कोरनाको महामारी फैलिएको ८ महिना वितिसक्यो । संक्रमण अझै बढ्दो क्रममा छ । हालसम्म २ करोड ४५ लाख ८७ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । ८ लाख ३३ हजार ५५६ संक्रमितको मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।
नेपाल पनि कोरोना संक्रमणबाट प्रभावित भएको छ । हजारौं मानिस संक्रमित भएका छन् । २ सय भन्दा बढीको ज्यान गइसकेको छ । दैनिक २ घण्टामा एक जनाको मृत्यु हुने गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लागू गरेको लकडाउन खोलेपछि झन् संक्रमितको संख्या ह्वातै बढेको छ । हाल नेपालमा कोरोना संक्रमितको ग्राफ बढ्दो क्रममा छ । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै पछिल्लो समय बढी संक्रमित हुँदै गएका छन् ।
जसका कारण अवस्था भयवह हुन सक्ने देखिन्छ । एकातिर अन्य रोगका विरामी समेत उपचार नपाएर अस्पताल चाहार्दचाहार्दै मृत्युवरण गर्नुपरेको तितो यथार्थ छ । सरकारको कमजोर व्यवस्थापनका कारण कतिपय कोरोना संक्रमि अस्पताल बाहिर छन् । उनीहरुलाई अस्पतासम्म ल्याउन कन्ट्याक्ट ट्रेसिङ गर्न सफल भइरहेको छैन ।
पछिल्लो समय वीरगंज र विराटनगरपछि काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दैछ ।
यहाँ दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । अवस्था भयवह हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा र लकडाउन गरेर कोरोना नियन्त्रण गर्न सकिदैन भन्ने कुरा अन्तराष्ट्रिय अभ्यास र यसअघिका हाम्रै अभ्यासले पनि पुष्टि गरिसकेको छ । यसको नियन्त्रणका लागि परीक्षणको दायरा फराकिलो बनाइनुपर्छ र जनतालाई रोगबारे सचेत गराउनुपर्छ ।
कोरोनाविरुद्धको खोप विकास नभएसम्म भौतिक दूरी कायम गर्ने,स्यानिटाइजर लगाउने, शारीरिक व्यायम गर्ने, डाइट खाने गर्नुपर्छ भनेर व्यापक प्रचारप्रसार गरिनुपर्छ ।
यसबाट आतंकित भएर हैन संयमित भएर लड्नुपर्छ । यो रोग लाग्दैमा मान्छे भटाभट मर्ने हैन भनेर जनतामा परेको मनोवैज्ञानिक त्रास हटाउनुपर्छ ।
तर, सरकार फेरी निषेधाज्ञा गर्ने र संक्रमितको संख्या यति र उति भनेर बस्नमै व्यस्त छ ।
निषेधाज्ञाका कारण अहिले आधा भन्दा बढी मुलुक ठप्प छ । लामो समयको लकडाउनले अस्तव्यवस्त भएका जनजीवन फेरी तङग्रिन लाग्ने बेला फेरी निषेधाज्ञा जारी गरेपछि कष्टकर बनेको छ । दैनिक ज्यालामजदुरी गरेर खानेहरुको चुल्हो नै निभ्न थालिसकेको छ ।
सबै व्यापार व्यवसाय चौपट भएको छ । ठूलो संख्यामा बेरोजगारको संख्या बढेको छ । राष्ट्रको अर्थतन्त्रमै ठूलो असर परेको छ । अझै कहिलेसम्म यो दशा भोग्नुपर्ने हो भन्ने कसैलाई थाहा छैन । विभिन्न संघसंस्थालेको कोरोनाबारे गरेको कतिपय प्रक्षेपणले नेपालमा अवस्था भयवह हुने भनिएको छ ।
जसका कारण सबैमा डर र त्रास झन् बढ्दै गएको छ । पहिले चाईनीज भाईरस भनिएकोमा अहिले वील गेट्सले पैसा कमाउन निकालिएको भाईरस हो भनी हल्ला चलेको छ ।
केही स्वास्थ्यका विज्ञहरुले यो रोगसँगं डराउनु पर्दैन र यो साधारण रोग मात्र हो भनेका छन् । सुरुमा कोरोनाको समाचारलाई निकै ठूलो विषय मानेर हेर्ने गरिन्थ्यो । अहिले समाचार सुन्न पनि मन लाग्न छाडिसक्यो । संक्रमितको संख्या बढको देख्दा मानसिक तनाव मात्र बढ्दै जान्छ ।
0000
नमस्कार गर्ने हाम्रो परम्परा नै ठिक रहेछ । यसले भौतिक दूरी कायम गराएको छ र संक्रमणबाट पनि जोगाएको छ । अब लकडाउनु खुलेपनि पाहुनालाई चिया खुवाउने चलन चाँहि केही समयलाई बन्द गरौं । सावधानिपूर्वक मास्क लगाएपनि चिया खानको लागि मास्क खोल्नु पर्ने हुन्छ । जुन ठूलो भूलपनि हुन सक्छ ।
यस्तै, खुल्ला ठाऊँमा चुरोट खान पनि प्रतिबन्ध लगाऔं । साथीभाइसँग टेलिफोनलगायत सञ्चारमाध्यमद्वारा कुराकानी गरौं । पोषिलो खाने कुरा खाने, व्यायाम गर्ने, आत्माबल उच्च राख्ने र एक आपसमा सक्दो सहयोग गर्दै सावधानी अपनाऔं ।

