जनस्वास्थ्यविद्ले ५ सयभन्दा बढी कोरोना भाइरस (कोभिड १९) संक्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरू जिल्लामा फैलन नसक्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले १२ जिल्लामा संक्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए ।
मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रूपन्देही जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् । आज एकै दिन १ हजार ६९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा संक्रमण देखिएको छ ।
‘ती १२ जिल्ला संक्रमणको हटस्पट भएको छ, त्यहाँ संक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ’, उनले भने । जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले संक्रमण बढिरहेको छ ।
महिलामा ८ प्रतिशत र वृद्धमा १ प्रतिशतबाट ४ प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा संक्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा. तिवारीले कोभिड- १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताए ।

