काठमाडौँ । भारतको कम्पनी सेरम इन्सिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ खोप पुनः १० लाख डोज खोप आज (आईतबार) काठमाडौं आइपुग्ने भएको छ ।
आज दिउँसो भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसारको पहिलो चरणमा आइतबार १० लाख डोज खोप आउन लागेको हो । ल्याईएको सो खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर लगाइने छ ।
भारत सरकारले गत माघ ८ गते सोही खोप नेपाललाई अनुदानमा दिएको थियो । उक्त खोप महामारीको बेला अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सफाईकर्मी हुदैँ जोखिममा काम गर्ने सबै कर्मचारीलाई लगाइँदैछ । ल्याउन लागेको कोभिशिल्ड खोप भण्डारणका लागि टेकुस्थित चिस्यान केन्द्रमा राखिने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप बताउनु भयो ।

