काठमाडौं । जसपाको बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ ।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको जानकारी दिए ।
ओली सरकारको विकल्प खोज्नु परेको अवस्थामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच सहकार्य भएमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
तर, जसपा नेपालले ओली पक्ष र ओली इतर पक्षमध्ये कुन समीकरणमा आफूलाई सामेल गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन ।
प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई ‘प्रतिगामी’ भन्दै आएको जसपा नेपालले अहिलेको अवस्थामा ‘अग्रगामी निकास’ दिनका लागि ओली पक्षसँगसमेत छलफल र वार्तालाई अघि बढाउन थालेको छ । पदाधिकारी बैठकले ‘वर्तमान राजनीतिक संकटको अग्रगामी निकास’ का लागि सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गर्नासाथ जसपा नेपालले छलफलका लागि पहिलो रोजाइमै ओलीलाई राखेको छ ।
सोहीअनुसार जसपा नेपालका नेताहरु बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार जाँदैछन् ।
जसपाको पदाधिकारी बैठकले पार्टी समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न चैत ५ गते कार्यकारिणी समितिको बैठक राख्ने निर्णयसमेत गरेको छ ।

