काठमाडौँ,१६ वैशाख । नेपाली कांग्रेस भित्र राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा परिवर्तन गरिएको छ। दलका नेता कृष्णप्रसाद सिटौला लाई पदबाट हटाउँदै कमला पन्त लाई नयाँ नेता नियुक्त गरिएको हो।
प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले दलको विधानअनुसार निर्णय गर्दै बुधबार पन्तलाई उक्त जिम्मेवारी दिएका हुन्। संशोधित विधान २०८३ को धारा १२ (२) बमोजिम नेतृत्व परिवर्तन गरिएको बताइएको छ।
पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद देखिँदै आएको थियो। सिटौलाले विशेष महाधिवेशनको विरोध गर्दै आएका थिए भने पन्त त्यसको पक्षमा देखिएकी थिइन्।
नेतृत्व परिवर्तनसँगै कांग्रेसभित्रको आन्तरिक समीकरण र आगामी रणनीतिमा असर पर्ने आकलन गरिएको छ। यस कदमले पार्टीभित्र चलिरहेको शक्ति सन्तुलन र नीति दिशामा नयाँ बहसलाई पनि जन्म दिएको छ।

