सर्लाही,१६ वैशाख । गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनयता पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। चुनावी पराजयपछि लामो समय काठमाडौँमै केन्द्रित रहेका थापा अब भने मतदातासँग प्रत्यक्ष संवादमा उत्रिएका छन्।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार उमरेसकुमार सिंहसँग पराजित भएका थापाले आफ्नो कमजोरीको समीक्षा गर्दै संगठन पुनः सुदृढ गर्ने रणनीति लिएका हुन्।
उनको सचिवालयका अनुसार सर्लाही भ्रमणको मुख्य उद्देश्य ‘जरा अभियान’ सञ्चालन गर्नु हो। यसमार्फत पार्टीलाई तल्लो तहदेखि मजबुत बनाउने, कार्यकर्ताको मनोबल बढाउने र आगामी रणनीति तय गर्ने योजना रहेको छ।
दुई दिनसम्म चल्ने भ्रमणमा थापाले स्थानीय नेता–कार्यकर्तासँग बैठक गर्ने, मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र निर्वाचनपछि देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्ने कार्यक्रम छ।
थापाको सक्रियतालाई नेपाली कांग्रेस भित्र संगठन पुनरुत्थानको प्रयासका रूपमा हेरिएको छ। चुनावी परिणामले पारेको प्रभाव कम गर्दै पार्टीलाई पुनः बलियो बनाउने लक्ष्यसहित उनी मैदानमा उत्रिएको बताइएको छ।
भ्रमणका क्रममा उनले कार्यकर्तासँगको दूरी घटाउने, चुनावी तिक्तता अन्त्य गर्ने र पार्टीलाई प्रभावकारी बनाउने सन्देश दिने अपेक्षा गरिएको छ। थापा बिहीबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

