काठमाडौं । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जना रहेका छन् ।
बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १/१ जना रहेका छन् ।
यसैगरी बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको पनि प्रहरीले जनाएको छ ।

