अरु पप्पुहरुले जन्मिने आँट नगरुन्

spot_img

कमसल काम गरेको भन्दै निर्माण सेवा कम्पनी पप्पु कन्सट्रक्सनका गाडी तथा कर्मचारीहरुलाई बीरगन्ज वडा नं. ११ श्रीपुरका स्थानियहरुले नियन्त्रणमा लिए । शनिबार बिहान सबै टोलबासी सुतिरहेका बेला कमसल काम गरी गाडी लिएर भाग्न खोज्दा स्थानीयहरुले गाडी र कर्मचारीलाई नियन्त्रणमा प्रहरीको जिम्मा लगाए । एकिकृत शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सडक बनाउने कार्यको जिम्मा लिएको पप्पु कन्सट्रक्सनले स्थानीय जनप्रतिनिधि तथा आम टोलबासीलाई थाह नै नदिई कमसल काम गरेको भन्दै टोलीबासी पप्पुका कर्मचारी माथि जाईलागे ।

पप्पुमाथिको आक्रोश यो पहिलो होइन । यसअघि पनि बीरगन्ज महानगरपालिका वडा नं. २० हरपतगन्जका स्थानीयले पनि समयमा बाटो नबनाएको भन्दै पप्पुको गाडी र कर्मचारीलाई घेरेका थिए । आक्रोशित स्थानीयले पप्पु कम्पनीका पप्पु अर्थात सुमित रौनियार र उनका बुबा कम्पनीका पूर्व निर्देशक निलम्बित सांसद हरिनारायण रौनियारको पुत्ला समेत जलाएका थिए । पप्पुले ठेक्का लिएर समयमा काम गर्न नसकेर तिलावे पुलकाे ठेक्का अरुलाई ठेक्का दिएको छ । तिलावे पुल समयमा बन्न नसक्दा पर्साबासी पिडित छन् । पप्पुप्रति जनमानसमा ठूलो आक्रोश छ । पर्सा जिल्लाभार ठेक्का लिएर समयमा नै काम पूरा नगर्ने पप्पुको चाला सुघ्रिएको छैन भने बनाएका संरचनाहरु कमसल सामाग्री प्रयोगले समय अगावै भत्केका र बिग्रिएका छन् । चाडैं नै जीर्ण भएका छन् । मुख्यतः देशभर पप्पु कन्स्ट्रक्सनले नै बनाएका अधिकांश पुल भत्किएका छन् भने कतिपय जोखिममा छन् । बर्दियाको भर्दा (बबई) नदीको जब्दी घाटमा निर्माणाधीन अवस्थामा नै पुल भत्किएको थियो । त्यस्तै, टेकुस्थित बिष्णुमतीको पुल, तीनकुनेस्थित बागमती पुल पप्पुले नै ठेक्का पाएर बनाइएका हुन् । विष्णुमतीको पुल गुणस्तहीन भन्दै सरकारले प्रयोगमा रोक लगाएको छ भने बागमतीको पुल अधुरै छ । हालै सिरहा–धनुषा जोड्ने कमला पुल भत्किएको छ । २०६८ सालमा पप्पु लुम्बनी जेभीले यो पुल निर्माणको ठेक्का लिएको थियो । देशभर पप्पुले मात्रै ४० वटाभन्दा पुल र सडकको ठेक्का पाएको छ । उसले बनाएका कुनै संरचना गुणस्तरीय भएको रेकर्ड छैन । यी त केही मात्र उदाहरण हुन् । यस्ता कयौं ठेक्का ओगटेर बसेको पप्पुले न त समयमा ठेक्का पूरा गरेको छ, न त संरचना गुणस्तरीय बनाएको रेकर्ड नै छ ।

यो सब दण्डहिनताको उपज हो । दोषीमाथि कारवाही नहुँदा जस्तो काम गर्दा पनि केही नहुने भन्दै गुणस्तरहीन काम गर्ने प्रवृति बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले अनुसन्धान गरे पनि त्यो प्रभावकारी भएको देखिँदैन । कालोसूची राखिएका निर्माण कम्पनीले शक्ति, सत्ता र पहुँचको आधारमा काम गरिरहेका हुन्छन् । उनीहरूलाई राजनीतिक नेतृत्वले संरक्षण गरिरहेको हुन्छ । कतिपय निर्माण कम्पनीका सञ्चालक त स्वयम् राजनीतिमा संलग्न छन् । कम मूल्यमा ठेक्का लिने प्रणालीका कारण गुणस्तहीन काम भइरहेका छन् । छानबिनका लागि कुनै ठोस नीति नबनेको कारण र राजनीतिक शक्ति, सत्ता र पहुँचका कारण जनताले यो दुर्दशा खेप्नुपरिरहेको छ । ठेक्का ओगट्ने, काम अलपत्र पार्ने र गुणस्तरहिन काम गर्ने पप्पु जस्तालाई कारवाही नगरिदाँ यस्तो प्रवृति सिको अरुले पनि गर्न थालेका छन् । दोषीलाई सजाय दिएर दण्डहिनताको अन्त्य गरिनुपर्छ । काम नगर्नेहरुलाई ठेक्का नै नदिने वातावरण निर्माण गर्नुपर्छ । त्यसका लागि सत्ताको नेतृत्वमा बसेकाहरुबाटै सुधार हुनुपर्छ । भ्रष्टाचार रोकियो भने विकासका कामहरु धेरै प्रगतिपथमा जानेछन् । विकासमै ठूलो हिस्सा अनियमितता हुने गरेको छ । यसको सुधारका लागि ऐन कानुनबाटै काम थाल्नुपर्छ । तब मात्रै अन्य पप्पुहरु जन्मिन सक्दैनन् वा जन्मने आँट गर्दैनन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय