भाई फुटे गँवार लुटे

spot_img

अहिले नेपालमा विकसित राजनीतिक घटनाक्रमले मूलतः दुई शक्तिको सपना र संकल्प संकटमा परेको छ । कम्युनिष्ट एकता र आन्दोलन तथा मधेश आन्दोलनको जग धर्मराएको छ । लामो अन्तरालपछि २०७४ सालमा गठबन्धन गरी ठूला दुई कम्युनिष्ट पार्टी (नेकपा एमाले र माओवादी केन्द्र)ले चुनाव लडे र सोही अनुसारको जनादेश पनि उनीहरुलाई प्राप्त भयो । नेपालको संसदीय इतिहासमै पाँच वर्षे स्थिर सरकार चलाउने म्यान्डेट थियो, वाम गठबन्धनलाई । ६ प्रदेशमै वाम शक्ति नेतृत्वमा आए । प्रदेश २ मा पनि मधेश केन्द्रीत शक्तिलाई सरकार बनाउने जनादेश प्राप्त भयो । संघीय सरकारमा पनि वाम शक्तिलाई दुई तिहाई नजिकको जनमत प्राप्त भयो । जनादेश अनुसार वाम र मधेश शक्ति मिलेर सरकार बनाइयो । प्रधानमन्त्री बने– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

वाम गठबन्धन गठजोड विकसित हुदैं एकतासम्म पुग्यो । एमाले र माओवादी केन्द्रले एकता गरेर ३ जेठ २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यसबाट देशमा शक्तिशाली कम्युनिष्ट पार्टी र बलियो सरकार स्थापना भएको भान थियो । तर कम्युनिष्ट एकता र दुई तिहारको सरकार सरकारको तीन वर्ष नपुग्दै हावा फुस्क्यो । निवर्तमान प्रधानमन्त्री ओलीले गएको ५ पुसमा प्रतिनिधिसभा विघटन गरे पश्चात देशको राजनीतिक घटनाक्रम अस्थिरतातर्फ अघि बढ्यो । सात महिना लामो रस्साकस्सी पश्चात नेकपा छिन्नभिन्न भयो, कम्युष्टि सत्ताच्युत भए भने सत्ताको बागडोरमा फेरि नेपाली काँग्रेस पुगेको छ ।

नेकपाको हकमा भाई फुटे गँवार लुटे भन्ने भनाई ठ्याक्कै मिल्छ । दलभित्रकै नेतृत्व बीचको मनमुटाव र रस्साकस्सीले नेकपालाई प्राप्त जनादेश र वाम एकतालाई गम्भीर नोक्सानी पु¥यायो । नेकपा छिन्नभिन्न हुँदाको बाछिटा उछिट्टिएर जसपालाई पनि लागेको छ । नेकपामा चलेको सत्ता ढाल्ने र जोगाउने खेलकै कारण हाल जनता समाजवादी पार्टी (जसपा) विभाजित अवस्थामा छ । उपेन्द्र यादवले पार्टीको आधिकारिकता पाएका छन् भने महन्थ ठाकुर समूहले आधिकारिता खोज्दै अदालतको ढोका ढक–ढक्याउदैं छ । आधिकारिकता प्राप्त र ईतर पक्षका जसपाका नेताहरु आरोप–प्रत्यारोपमा नेताहरु उत्रिएका छन् । सँगै, प्रदेश २ को सरकारको गठबन्धनमा मधेश केन्द्रीत शक्ति विभाजित बनेको छ । ठाकुर समूहलाई यादव समूहले सरकारबाट हटाएको छ ।

अब आगामी निर्वाचनमा यो शक्ति बिस्थापित हुनसक्ने खतरा बढेको छ । किनकि गएको निर्वाचनमा यादव र ठाकुरले गठबन्धन गरेका थिए । भर्खरै विभाजन भएको र तत्काल गठबन्धन नहुने अवस्था आएमा क्षति भने मधेश आन्दोलनले भोग्नुपर्नेछ । त्यसैले, अझैपनि नेताहरुले यसतर्फ एकपटक सोच्न जरुरी छ । राजनीतिक आन्दोलन एउटा सपना, संकल्प र साध्य पनि हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय