परीक्षा अन्तिम मानक होइन

spot_img

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशित गरेको केही दिन भयो । कोरोना संक्रमणले गर्दा यसपटक पनि विद्यार्थीले अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कनका आधारमा परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । विद्यालयले पठाएको जीपीएलाई प्रमाणित गरेर नतिजा सार्वजनिक गरेपछि कक्षा–११ भर्नाको बाटो खुलेको छ । गएको वर्ष पनि यस्तै प्रणाली अवलम्बन गरिएको थियो । विश्वव्यापी कोरोना महामारीका कारण गएको वर्ष समेत एसईईको परीक्षा सञ्चालन भएको थिएन । प्रवेशपत्र वितवरण गरिसकेपछि सरकारले परीक्षा रोकेको थियो । महामारी रोकथामका निम्ति परीक्षा रोक्नु परेको सरकारले तर्क गरेको थियो । तर तीन महिनासम्म परीक्षा हुन नसकेपछि विद्यालयले आन्तरिक मूल्याङ्कन मार्फत् पठाएको नतिजालाई नै प्रमाणित गरेर नतिजा सार्वजनिक गरिएको थियो ।

आन्तरिक मूल्याङ्कनका आधारमा गएको वर्ष एसईई गरेका विद्यार्थी अहिले कक्षा ११ मै छन् । कक्षा १२ को समेत परीक्षा रोकिएको अवस्थामा कक्षा ११ को परीक्षा हुने कुरै भएन । अब प्लस टू लेभलमा तीन वर्षका विद्यार्थी भेटिएका छन् । कोरोना महामारीकै कारण शैक्षिक क्यालेण्डर बिग्रन पुगेको हो । एसईई, प्लस टू मात्रै नभएर स्नातक र स्नातकोत्तर तहको समेत शैक्षिक तालिका प्रभावित हुन पुगेको छ । यो भन्दा पनि महत्वपूर्ण विषय भनेको बालबालिकामा विकसित मनोविज्ञान हो । महामारीका कारण पठनपाठनको भौतिक उपस्थितिमा लगाइएको रोकले विद्यार्थीहरुमा चिन्ता बढेको छ ।

अझ महामारी रोकथाम गर्नका निम्ति अपनाइएको अनलाइन कक्षा प्रणालीले पनि विद्यार्थीहरुमा अर्को तनाव सिर्जना गरिदिएको छ । किनकि अनलाइन कक्षाका निम्ति दुर्गम क्षेत्रका विद्यार्थीहरुको सहज पहुँच छैन । शहरी क्षेत्र र उच्च वर्गका परिवारमा यसप्रति ठूलो समस्या नरहेपनि न्यून आय भएका र पीछडिएको वर्गमा यसको मार बढी छ । अझ यस्तो बेला सञ्चालित परीक्षाका नतिजालाई हेयका साथ विश्लेषण गर्ने र टिप्पणी गर्दा अझ उनीहरुमा लघुताभास उत्पन्न हुन सक्छ । फेरि परीक्षा प्रणाली एउटा मानक हो, सरकारले निर्धारण गरेको । अहिले विशेष परिस्थितिमा मान्यता दिइएको फरक मानक अपनाइएको छ । त्यसैले यस्तो बेलामा अनुचित र हेय तरिकाले टिप्पणी गर्नु राम्रो हुन्न । किनकि एउटै परीक्षा कुनैपनि मानिसका निम्ति अन्तिम मानक होइन ।

यस्तै, एसइईको नतिजा प्रकाशित भएपनि विद्यालयको पठाएको नतिजामा अभिभावक र विद्यार्थीले असन्तुष्टि पोखेको पनि सुनिएको छ । विद्यालयले नतिजा पठाउने अवसरमा पाएको बेला सबैको ए र ए प्लस ग्रेड नै आउनुपर्ने भन्दै उनीहरुको असन्तुष्टि पोख्ने गरेको पाइएको छ । जुन अनुचित हो । किनभने एसइई परिक्षा नै अन्तिम परिक्षा होइन, यसले भविष्य निर्धारण गर्ने पनि होइन । यो त एउटा उद्गम विन्दु मात्र हो । कयौं परिक्षा र चुनौति पार नै बाँकी नै हुनेछन् । भोलि फेरि अब्बल सावित गर्ने थुप्रै अवसर छदैछ । अन्तमा ढिलो नै भए पनि एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई एवम् शुभकामना !

spot_img

ताजा अपडेट

लोकप्रिय