काँग्रेस प्रदेश- २ को अधिवेशन स्थगित, नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने

spot_img

धनुषा । नेपाली कांग्रेसको प्रदेश- २ को अधिवेशन उद्घाटनपछि स्थगित भएको छ । प्रदेश २ का धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको निर्वाचन समितिले बताए ।

अब प्रदेश- २ को नेतृत्व चयन महाधिवेशनपछि मात्र हुने बताइएको छ। प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि मनोनय दर्तालगायत चुनावी प्रक्रिया अगाडि बढेको छैन।

यता प्रदेश सभापतिलगायत पदहरूमा आकांक्षीहरूले औपचारिक रुपमा उम्मेदवारीसमेत घोषणा गरिसकेका छन्।

प्रदेशका ८ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित भएको निर्वाचन समितिले बताए।

सर्लाहीका चार निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ ९ख०, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेका छैनन्।

सर्लाहीमा त अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन। निर्वाचन समितिकाअनुसार सर्लाही जिल्लामा अधिवेशनको प्रक्रियामा झमेला देखिएको छ।

जिल्लाका निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबार पनि मतदाता नामावली प्रकाशन हुन सकेन।

मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आइतबार हुने भनिएको मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन सकेन।” श्रोतका अनुसार प्रदेशको नेतृत्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय