नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो ।
उहाँले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नुभयो ।
संयोजक रिजालले भन्नुभयो, ‘प्रदेशको आठ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो ।’
प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको एक/एक वटा क्षेत्रको अधिवेशन हुन सकेको छैन ।

