सिम्रौनगढमा झडप ९ जना घाइते, सहमतीपछि नगरपालिकाको ताला खुल्यो,निर्णय फिर्ता नहुने मेयर कलवारको भनाई

spot_img

बारा,१३ साउन –  बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरुको जिम्मेवारी हेरफेरको विषयमा विवाद हुँदा ९ जना घाइते भएको छ । कर्मचारीहरुको जिम्मेवारी वाडफाडको बिषयमा भइरहेको बिवाद झडपमा परिणत भएपछि ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहीबार बेलुका भएको झडपमा ४ जना स्थानीय र ५ जना प्रहरी गरी ९ जना घाइते भएको प्रहरीको भनाई छ ।
घाइते मध्ये गम्भीर रहेको एक जनाको बीरगन्जको अस्पतालमा तथा अन्य ८ जनाको सिम्रौनगढ नगर अस्पताल तथा कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहीले जनाएको छ । घाइते भएका सबैको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

झडपमा सिम्रौनगढ ४ का रविकुमार सहनी, रामनिवास राम, वडा ९ का उमेश यादव, गौरीशंकर यादव घाइते भएका हुन् । यसैगरी प्रहरीतर्फ प्रहरी सहाय निरीक्षक भवमोचन झा, हवल्दार मदन साह तेली, रमेश राय यादव, उमेश यादव र सशस्त्र प्रहरी हवल्दार प्रमोद साह लगायतका घाइते भएका हुन् ।

झडपको क्रममा नगरपालिकामा ढुंगामुढा हुन थालेपछि  प्रहरीले नियन्त्रण गर्न खाजेको थियो । तर स्थिति झनै तनावपूर्ण बनेको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै १५ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

यसै बिच नगरपालिकामा भइरहेको बिवादको बिषयमा जिल्ला प्रशासन कार्यालय बारा दुबै पक्षले लामो छलफल गरेका छन्  । छलफलपछि दुबै पक्ष सहमतीमा अगाडी बढने सहमत भएका छन् । मिलेर जाने दुबै पक्ष सहमत भएपछि नगरपालिका कार्यालयमा लगाइएको ताला आजै देखि खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता थापाले बताए ।

शिक्षा र स्वास्थ्यको कर्मचारीको जिम्मेवारी हेरफेर नगरपालिकाका मेयरले गरेपछि बिवाद उत्पन्न भएको थियो । सिम्रौनगढ नगरपालिका मेयर किशोरी साह कलवारले राम्रो काम नगर्ने कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको बताउँदै शिक्षा स्वास्थ्यमा सुधारका लागि जिम्मेवारी हेरफेर गरिएको दावी गरे । तर शिक्षा,स्वास्थ्यमा सुधार हेर्न नचाहने साथीहरुले नगरपालिकामा बिवाद गराउन खाजेको मेयर कलवारले आरोप लगाए ।

मेयर कलवारका अनुसार दुबै पक्ष बिच जिल्ला प्रशासन कार्यालयमा शुक्रवार भएको छलफलमा सहमती बनेपछि नगरपालिकाको ताला खोलिएको छ । घाइतेहरुको उपचारको बिषयमा नगरकार्यपालिकाको बैठक वसी निर्णय गर्ने सहमती बनेको छ । तर कर्मचारीहरुको जिम्मेवारी हेरफेरको निर्णय यथावत रहेको मेयर कलवारकाे भनाइ छ । जिम्मेवारी दिइएको कर्मचारीहरुले राम्रो काम नगरे फेरी उनीहरुको जिम्मेवारी परिवर्तन हुने मेयर कलवारले बताए ।

नेपाली कांग्रेसका वडा अध्यक्षहरुले मेयर कलवारले नगरपालिकामा मनोमानी गरेको भन्दै कर्मचारीहरुको जिम्मेवारी हेरफेरको निर्णय रद गर्नु पर्ने माग गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय