मधेश प्रदेशमा डेङ्गु रोगका दुई सयभन्दा बढी बिरामी

spot_img

जनकपुरधाम, भदौ ३० । मधेश प्रदेशमा डेङ्गु रोगका दुई सयभन्दा बढी बिरामी देखिएको छ ।

डेङ्गुको संक्रमित मधेश प्रदेशमा पनि विस्तार हुन थालेको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा दुई सय भन्दा बढी डेङ्गुको संक्रमण देखिएको चिकित्सक डा. प्रमोद यादवले जानकारी दिए । उनका अनुसार प्रदेशको सबै जिल्लामा बढ्न थालेपछि चेक जाँचमा तीब्रता दिइएको छ । स्थानीय पालिकामा पनि जाँच शुरु गरिएको छ । चालु सातामा वर्षा भए संक्रमित बढ्न सक्ने उनको अनुमान छ । ‘प्रादेशिक प्रयोगशालामा लक्षण देखिएको मध्ये जाँच गर्दा दशदेखि १५ प्रतिशतमा डेङ्गु देखिएको छ,’उनले भने,‘सर्तकता अपनाइएन भने, लार्भा अन्त्य गर्ने ठोस योजना ल्याएन भने स्थिति भयावाह हुन सक्छ ।’ अहिलेकै अवस्थामा संक्रमित बढ्दै गए अस्पतालमा कोभिड संक्रमणकालको जस्तै अवस्था आउन सक्ने उनको अनुमान छ । त्यसकारण सोहीअनुसार चेकजाँच र भौतिक तयारी अघि बढाउनु पर्ने उनको भनाइ छ । अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएका छन् । त्यसकारण संक्रमितहरूमा सामान्यतया उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखिन्छन् । तर, गम्भीर प्रकृतिको डेङ्गुको संक्रमण भएका बिरामीमा थकान महसुस पनि हुने गरेको उनले बताए । साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, पूरा शरीर ढाक्ने लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपाय रहेको उनले जानकारी दिए । त्यस्तै घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनु र डेङ्गुका सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनु पर्ने उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय