जनकपुरधाम, असाेज ६ । धार्मिक र सांस्कृति महत्वका धनुषा र महोत्तरीका विभिन्न मठ मन्दिरलाई सौन्दर्यीकरण गरिँदैछ। धार्मिक सांस्कृतिक महत्वको निर्माण एवं संरक्षणका लागि जलेश्वर–जनकपुरधाम–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठमन्दिरको १० करोडको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो।
शहरी विकासमन्त्री मेटमणि चौधरीले बुधवार दुई जिल्लामा पर्ने विभिन्न मठमन्दिरको सौन्दर्यीकरणका लागि पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन्।
जनकपुरधामको सघन सहरी विकास कार्यक्रम शिर्षक अन्तर्गत करिब १० करोडको लागतमा निर्माण हुन लागेको पूर्वाधारको काम निर्माण व्यवसायी श्री गणपति बाबा निर्माण सेवा प्रा.लि. धुलिखेल ६, काभ्रेपलानचोकसँग १५ महिनामा सम्पन्न हुनेगरि सम्झौता भएको हो।
यस सम्झौता अनुसार महोत्तरीको जलेश्वर नगरपालिका २ मा सांस्कृतिक सामुदायिक भवन स्तरोन्नती कार्य, पिपरा गाउँपालिकामा रहेको बौधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नति तथा परिसर सुधार कार्य गरिनेछ।
यस्तै धनुषाको जनकपुरधाम स्थित सहनी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नती, जनकपुरधाम ४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिला बिहारी मन्दिर परिसर भित्र सांस्कृतिक सामुदायिक भवन स्तरोन्नती र विवाह मण्डप निर्माण तथा परिसर सुधार कार्य गरिनेछ।
यस्तै मिथिला बिहारीकै भुतही पटेर्बा स्थित महारानी मन्दिर सुधार ता शेड निर्माण कार्य र धनुषाधाम मन्दिर परिसरमा रहेको अधुरो सांस्कृतिक भवन स्तरोन्नति गरिेने छ।
यस धार्मिक पर्यटकीय कोरिडरको शिलान्यास कार्यक्रममा मन्त्री चौधरीसँगै जनकपुरधाम उपमहानगरका मेयर मनोज साह, मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार र पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादव उपस्थित थिए।

