सर्लाही,१६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारको कार्यशैलीलाई “हेपाहा प्रवृत्ति” भन्दै कडा आलोचना गरेका छन्।
बुधबार सर्लाहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले बोलाइसकेको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने कदमलाई संसद् र जनताप्रति अनादरको रूपमा व्याख्या गरे। उनले सरकार एकतर्फी रूपमा अघि बढे त्यसले दीर्घकालीन रूपमा राजनीतिक अस्थिरता र दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।
थापाले प्रमुख प्रतिपक्षी दलसँग कुनै पनि औपचारिक संवाद नगरी निर्णयहरू अघि बढाउनु गलत अभ्यास भएको बताए। उनका अनुसार, संसद् सबै दलहरूको साझा थलो भएकाले सरकार र प्रतिपक्षबीच नियमित छलफल आवश्यक हुन्छ।
“हामी पनि यही निर्वाचनबाट आएको प्रमुख प्रतिपक्षी दल हौँ। हामीलाई बेवास्ता गरेर एक्लै अघि बढ्ने प्रवृत्तिले अन्ततः अप्ठेरो स्थिति सिर्जना गर्छ,” थापाले भने।
उनले आफूहरू सरकारका सकारात्मक काममा सहयोग गर्न तयार रहेको भए पनि संवादविहीन र एकतर्फी निर्णय प्रक्रिया लोकतान्त्रिक अभ्यासविपरीत हुने बताए।
थापाले सरकारलाई सबै पक्षसँग छलफल गरेर मात्र अघि बढ्न सुझाव दिँदै वर्तमान शैली सच्याउन आग्रह गरेका छन्।

