बीरगन्ज, २५ मंसिर – बीरगन्जका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई बीरगन्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो बीरगन्ज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफको बच्चाको नाममा उनको अभिभावकलाई महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे । सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।
यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए । उनको आश्रित परिवारलाई अन्य कुनै किसिमको सहयोग पनि चाहिएको खण्ड त्यसको लागि म व्यक्तिगत रुपमा हरहमेशा रहने मेयर सिंहले बताए । यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो बीरगन्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाखको चेक स्वर्गीय सर्राफको छोरी नाम उनको परिवारलाई उपलब्ध गराएको छ ।
रेडियो बीरगन्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा सविधान सभा सदस्य एवं एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र साह, मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली,एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा,जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमत, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवराी, प्रेस सेण्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे, क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष प्रयण कुमार, नेपाली कांग्रेसका युवा नेता राकेश यादव,युवा नेता ओमप्रकाश सर्राफ,एकिकृत समाजवादी पार्टी बीरगन्ज कमिटि अध्यक्ष मनोज चौधरी लगायत बिभिन्न संचारमाध्यमा काम गर्ने पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायीहरुको सहभागि रहेका थिए ।
कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठन नेपाल पर्र्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय सर्राफको व्यक्तित्वसँग सबै पर्सावासी प्रभावित रहेको तथा पर्साले एउटा निष्ठावान पत्रकार गुमाएको बताएका थिए । उनले समाजलाई पत्रकारिताको माध्यमले धेरै ठूलो गुण लगाएकोले वक्ताहरुले उनको सम्झनामा पुरस्कार तथा खेलकुद जस्ता कार्यक्रमहरुको हरेक बर्ष आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।



