मोरङ । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सक्रियता बढेसँगै अवैध रकम ओसारपसारमा संलग्न व्यक्तिहरू धमाधम भाग्न थालेका छन्। यसै क्रममा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।
मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेपछि सशस्त्र प्रहरीले रोक्न खोजेको थियो। तर चेकजाँचको क्रममा मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरूले बोकेको रकम त्यत्तिकै फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
छाडिएको झोलाभित्र रहेको २० लाख भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
सीमा क्षेत्रमा अवैध रूपमा नगद, सामान तथा सुनचाँदी ओसारपसार हुने घटनाहरू पछिल्लो समय बढ्दै गएको भन्दै सशस्त्र प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ।
बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाउने तयारी भइरहेको छ।



