बीरगन्ज । बीरगन्जको वडा नम्वर ३१ र ३२ का स्थानीय कृषकले सोलकपुरमा संयुक्त रुपमा स्थापना गरेको हरियाली कृषक समूहको आइतबार बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।
प्रमुख सिंहले सो उद्घाटनमा कृषकलाई सम्पन्न बनाउँन व्यवसायीक कृषि खेतिलाई अगाडी बढाउनुपर्ने र त्यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताएका छन् ।
‘उनले भने ‘ तरकारी तथा नगदे बाली व्यवसायीक रुपमा लगाउँन महानगरले आवश्यक सहयोग गर्छ,’ , ‘त्यसका लागि आवश्यक तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ ।’
उनले यस्ता कृषी समूह तथा सहकारीहरुले आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा पनि जोड दिए ।
कार्यक्रममा वडा नम्वर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले ग्रामिण क्षेत्रको रुपमा रहेको महानगरको ३१, ३२ वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरेका थिए ।
३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ ।
संकलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषिकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेश साह सोनारले जानकारी दिए ।
संस्थाका अध्यक्ष अब्दुल बराकत अंसारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शेष भिखारी, इमामुल अन्सारी, मैना देवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अंसारी, पुजा देवी राम, सावित्री कार्की, मुक्ति चौधरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।