काठमाडाै,१९ फागुन। ११ फागुनअघिसम्म राष्ट्रपतिको दाबेदार थिए– महन्थ ठाकुर । त्यसकारण, फागुनको पहिलो साता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिले ठाकुरलाई उम्मेदवार बनाउने निर्णय मात्र गरेको थिएन, ठाकुरलाई प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न पनि पठाएको थियो । यद्यपि, पार्टीले निर्णय गर्नुअघि नै ठाकुरको नाम भने राष्ट्रपतिका लागि चर्चामा थियो ।
राष्ट्रपतिमा सम्भावना टरेपछि ठाकुरलाई उपराष्ट्रपतिमा अगाडि सानुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेस,लोसपा र जसपाभित्र पनि यो आवाज सुनिन थालेको छ । यद्यपि, उपराष्ट्रपति जसपाको भागमा परेकोले उपेन्द्र यादवको समर्थनबिना चाहिँ ठाकुर उम्मेदवार हुने सम्भावना कम रहेको छ । तर, यादवलाई ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी- ३ बाट निर्वाचित गराउने ग्यारेन्टीसहित ठाकुरलाई सेटल गर्ने प्रयास हुने पनि स्रोतको भनाइ छ ।
जसपाभित्र उपराष्ट्रपतिमा पार्टीबाहेकका व्यक्तिलाई पनि उम्मेदवार बनाउने विषयमा छलफल पनि चलेको छ । जसपा स्रोतका अनुसार त्यसमा पहिलो नम्बरमा ठाकुरको नाम आउँछ । तर, उपराष्ट्रपति ठाकुरलाई दिँदा अध्यक्ष यादवले चुनाव जित्न सो क्षेत्र सहज हुने छैन । सो क्षेत्रमा मैथिली ब्राह्मण र भूमिहारको बाहुल्यता छ । यस्तोमा अध्यक्ष यादवको पक्षमा निर्वाचन परिणाम आउने सम्भावना कम रहेकोले पनि यस्तो जोखिम नलिन उपेन्द्रलाई कार्यकताको दबाब रहेको छ । सोहीकारण आफ्नो भागमा परेको उपराष्ट्रपति पद ठाकुरलाई नदिने मनसाय पनि जसपामा रहेको छ ।
लोसपाका नेता सुरेन्द्र झा भने अहिले राष्ट्रपतिको चुनावमा लागेका कारण उपराष्ट्रपतिको विषयमा छलफल नभएको बताउँछन् । ठाकुरको उपराष्ट्रपतिको सम्भावित उम्मेदवारीबारे शिलापत्रसँग झाले भने, ‘अहिले राष्ट्रपतिको चुनावमा लागेको छौँ, पहिला राष्ट्रपतिको चुनाव सकौँ अनि छलफल होला नि ।’
भारतीय विदेशसचिव विनयमोहन क्वात्राले सम्भावित चार जना राष्ट्रपतिका उम्मेदवारको नाम लिँदा ठाकुरको समेत नाम लिएका थिए । त्यतिबेला क्वात्राले रामचन्द्र पौडेल, माधव नेपाल, कृष्ण सिटौला र महन्थ ठाकुरको नाम लिएको प्रधानमन्त्रीनिकट स्रोतका भनाइ छ । ती नामकै सेरोफेरोमा रहेर नेपाल भ्रमणका क्रममा क्वात्राले सबै राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए ।

