जनकपुरधाम, १७ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा प्रहरी प्रशासनको व्यवहारमा परिवर्तन ल्याउनु पर्ने मुख्य संकल्प गरिएको उनले बताएका हुन् ।गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन राष्ट्रको सेवाका लागि रहेको मुल्य मान्यतालाई लिएर कार्यपद्धतीमा परिवर्तन ल्याउने र जनताले व्यवहारमा अनुभूति गर्नेगरि काम गर्न निर्देशनसमेत दिए ।
बैठकमा महिला हिंसा, जातिय छुवाछुत, दलितमाथि विभेद, लागूपदार्थ लगायतको विषयमा छलफल हुनुका साथै समाजमा हुने अन्य अपराधलार्ई गम्भीरतापूर्वक समाधान गर्न निर्देशन दिइएको थियो ।सुरक्षा समितिको बैठकमा गृहमन्त्री, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, मधेस प्रदेशका डिआइजी, प्रदेशको आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका प्रमुख लगायत प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

