बुटवल,२८ पुस । राष्ट्रियसभाको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा सत्ताको साझेदार दल नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारी कायम नै रहेको छ । उक्त पार्टीका उम्मेदवार बाल गोविन्द चौधरीले मनोनयन दर्ता गरेपछि पनि गठबन्धन दलहरू तर्फबाट फिर्ता ल्याउने विषयमा प्रयास नभएपछि उम्मेदवारी कायमै रहेको हो
निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार हिजोदेखि उम्मेदवारी फिर्ताको समय सकिएको छ । राप्रपाको तर्फबाट उम्मेदवारी दिएका निरनजन थापाले फिर्ता लिए पनि सत्तारुढ दलका चौधरीको भने कायम रहेको हो । लुम्बिनीमा दुई सिटको लागि अव ६ जना मैदानमा रहने छन् ।
सत्ता गठबन्धनले माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटालाई उम्मेदवारी बनाएको छ । उनीहरूलाई जिताउनको लागि बिहीबार सत्ता गठबन्धन दलको प्रदेशस्तरीय बैठकले राष्ट्रिय सभा निर्वाचन परिचालन समिति गठन गरेर जिल्ला जिल्लामा जाने निर्णय छ । तर उक्त बैठकमा सहभागी नभएको गठबन्धन दल नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना उम्मेदवार बाल गोविन्द चौधरीको पक्षमा मत माग्ने तयारी गरेको छ ।
बाल गोविन्द चौधरीले सत्ता गठबन्धनबाट कुनै छलफल र वार्ता नभएको भन्दै आफ्नो उम्मेदवारी कायम राखेको रातोपाटीलाई बताए । उनले भने –’मेलै उम्मेदवारी मनोनयन भएपछि गठबन्धन दलले कुनै प्रयास नै गरेनन् । म जति हुन्छ मेरो भोट माग्छु ।’
प्रदेशमासत्ता गठबन्धन दलहरूको हिजो देउखुरीमा बसेको बैठकमा समेत नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिको सहभागी भएका छैनन् । राष्ट्रिय सभाको लागि नागरिक उन्मुक्ति पार्टीको यहाँ २१२ मत रहेको छ । उक्त पाटीका सांसद प्रदेश सरकारको मन्त्री समेत बनेका छन् ।
सत्ता गठबन्धन दल माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारीलाई निकृय बनाउनको लागि प्रदेशबाट भन्दा केन्द्रबाट थप पहल हुनुपर्ने बताए । उनले त्यस लागि यहाँ सक्ने प्रयास भएको र केन्द्रलाई जसरी भए पनि सहमति ल्याउन आग्रह गरेको रातोपाटीलाई बताए ।
उनले भने-‘हामी यहाँ एक छै एक भएर जान चाहन्छौ त्यस कारणले तपाईँहरू जहाँ जे गरेर हुन्छ मिलानहोस भन्ने आग्रह गरेका छाैँ, त्यो मिल्छ ।’
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले पार्टीको सत्तारुढ दलहरूको बेबस्ता गरेको भन्दै आफूहरूले उम्मेदवारलाई भोट माग्ने र जति आउँछ त्यसमा बस्ने रणनीति बनाएको रातोपाटीलाई बताए । उनले भने– ‘हामीलाई कुनै वास्ता गरिएको छैन, तर हाम्रो पनि मत छ । अरूलाई किन हाल्ने ? ‘
नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश र मधेस प्रदेशमा राष्ट्रिय सभाको लागि उम्मेदवारी दिएको हो । उक्त पार्टीबाट उम्मेदवारी दिएको बाल गोविन्द चौधरीले पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य हुन् ।
नवलपरासीको सरवाल गाउँपालिका निवासी चौधरीले पार्टीको स्थापना देखी सक्रिय रहेका नेता हुन् । उनले पार्टीको नवलपरासी जिल्ला संयोजकको भूमिका समेत निर्वाह गरेका थिए । लुम्बिनीमा अव चौधरीसँगै एमालेका झपेन्द्र बहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी बिच प्रतिस्पर्धा हुने छ ।
महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी,गठबन्धनबाट नेपाली काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहका बिच प्रतिस्पर्धा हुने छ । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको लागि मतदान हुँदै छ । लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य, २१८पालिकाका जनप्रतिनिधिको ८७५३ अङ्क मत भार रहेको छ ।

