मोफसलबाट सुरु गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका दिपक साह र उनका साथी सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको छ ।
सन् २०१० मा साथीको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्राली सफ्टवेयर कम्पनीको सुरुवात भएको थियो । जागिर भन्दा आफ्नै केही गर्नु पर्छ भन्ने हुटहुटीले उनीहरूले जसोतसो गरी ग वर्गका वित्तीय संस्थाबाट चर्को व्याजमा ऋण लिई व्यवसाय थालनी गरेका थिए । बिचमा उनीहरूकै साथी अर्जन साह पनि जोडिए । अहिले कम्पनीलाई तीन जना साहले हाँकी रहेका छन् ।
सफ्टवेयर डेभलपर उद्यमी बन्ने रहर दीपकलाई आफ्नो बुवाबाट प्रेरित भई जागेको थियो । करिब २५ वर्ष अघि वीरगञ्ज चिनी उद्योगमा साहका बुवा कम्प्युटर अपरेटरको काम गर्थे । बुवालाई कम्प्युटरमा बसेर काम गरेको देख्दा दीपकको मनमा कम्प्युटर नै पढ्छु भन्ने चासो बाल्यकालमै आएको थियो । त्यही सपना पुरा गर्ने उद्देश्यमा उनले सफ्टवेयर पढे ।
बाल्यकालदेखि नै साहको मनमा आफ्नो व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी थियो । हजुर बुवाले व्यापार गरेको जो उनले देखेका थिए । हजुरबुवासँग व्यापार गर्न सिकेका दीपकले सफ्टवेयर पढेर उद्यमी बन्नुपर्छ भन्ने ठाने । त्यही हुटहुटीले उनि अहिले सफ्टवेयर डेभलपर उद्यमी बनेका छन् । कामको सुरुवात गर्न सजिलो त पक्कै थिएन उनीहरूलाई । तर, बच्चादेखिकै मनमा चलेको हुटहुटीले उनीहरूलाई कहिले मनमा निराश हुन दिएनन् । कम्पनीको सुरुवात गर्दा उनीहरू मात्र २० वर्ष उमेरका कलिला युवा थिए । उनीहरू नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउँमा केही गर्ने अठोटसहित दायाँ बायाँ कतै नलागेर रात दिन निरन्तर मेहनत गरे ।
मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन गरेका छन् । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीको शाखा विस्तार गरेका छन् ।
सुरुवातमा उनीहरूलाई काम लिन केही सकस भएता पनि अहिले भने उनीहरूलाई खासै समस्या छैन । अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाइकसेका छन् । बजारको मागअनुसार विभिन्न ब्रान्डका सफ्टवेयर ल्याएका छन् । कम्पनीको आधा दर्जन आफ्नै ब्रान्डका सफ्टवेयरहरू बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेस पनि सञ्चालनमा छ । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।
कम्पनीका सञ्चालक तथा सीईओ दीपक सुनाउँछन्, ‘कम्पनीलाई रातदिन खटेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएका छौँ । सुरुवातमा काम गर्न सहज थिएन । वीरगञ्जको गर्मीमा हामी खाना पानी निन्द्रा नभनी निरन्तर काममा खटिने गर्यौँ । अहिले १४ वर्षको कामको अनुभवले हामीलाई परिपक्व बनाइरहेको छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुन सुकै कम्पनीसँग पनि हामी कामको गुणस्तर र सेवामा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा कम्पनी आएको छ । कम्पनीले विकास गरेका सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी सङ्घसंस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । विभिन्न सङ्घसंस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमित सेवाग्राही करिब दुई हजार बढी छन् ।
आफ्नो सेवामा प्रयोगकर्ता सन्तुष्ट भएको र आजसम्म सेवा तथा गुणस्तर नराम्रो भयो भनेर त्यस्तो गुनासो नआएको दीपकको दाबी छ । ‘हाम्रो उद्देश्य सफ्टवेयर बनाएर बच्ने मात्र होइन । हामी सफ्टवेयरलाई गुणस्तर सेवा दिनुपर्छ भन्नेमा बढी केन्द्रित हुन्छौँ,’ उनले भने, ‘हामी सफ्टवेयर प्रयोगकर्तालाई केन्द्र बिन्दुमा राखेर काम गर्छौँ । त्यही कारण अहिले सेवामा अब्बल ठहरिरहेका छौँ ।’
दीपक अगाडि भन्छन्, ‘सेवामा अब्बल बनाउन इमानदार भएर निरन्तर मेहनत गरेमा मात्र सफलता हात पर्छ भन्नेमा हामी सचेत छौँ । काम गरे पछि पूर्ण जिम्मेवार र इमानदार भएर सेवा दिनुपर्छ भन्ने हाम्रो कम्पनीको मूल सिद्धान्त हो । जुन क्षेत्रमा पनि सुरुवातमा निक्कै कठिन हुन्छ । हामीलाई पनि नभएको होइन ।’ तर पछिल्लो समय बजार सहज बन्दै गएको साह बताउँछन् । सरकारले आइटी प्रविधि उद्योगलाई प्रोत्साहित गर्ने भनेता पनि स्वदेशी सफ्टवेयर उद्योगहरूलाई प्राथमिकतामा नदिएको गुनासो दीपकको छ ।
उनी भन्छन्, ‘नेपाली पनि अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका छन् । उनीहरू भन्दा राम्रो सेवा र गुणस्तर दिने इआरपी सफ्टवेयर कम्पनी नेपालमा धेरै छन् । सरकारी काम गर्न खोज्दा सरकारी निकायले नेपालको कम्पनीलाई खासै विश्वास नै गर्दैनन् । नेपालमै केही राम्रो काम गर्छु भनेर उद्योग सञ्चालन गर्दा नेपालीको काम र सेवा प्रति नेपाल सरकारले नै विश्वास नगर्ने प्रवृत्तिले राम्रो उद्योगहरू पनि निरुत्साहित भएका छन् ।’
स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता दिएर प्रयोग गरे बिदेसिने पैसा नेपालमै रहने दीपक बताउँछन् । सरकारी निकायका काम गर्ने जाँदा सरकारले अन्तर्राष्ट्रिय कम्पनीलाई पहिलो प्राथमिकता राख्ने भनाइ उनको छ । नेपाली उद्योगलाई प्रोत्साहित गर्न राज्यले नेपाली उद्योगको उत्पादन प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।
दीपकका अनुसार डाइनामिकका सफ्टवेयर दुगड ग्रुप, सिप्रदी, सालिमार ग्रुप, हुलास स्टिल, गोदावरी ग्रुपलगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका छन् । डाइनामिक एकेडेमी इआरपी र यसको मोबाइल एप अहिले देशभरका एक हजारभन्दा बढी विद्यालयले प्रयोग गरिरहेका छन् ।
पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी दीपक गर्छन् । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रडक्ट विस्तार गर्नुपर्छ भनेर अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लीन रहेको उनि बताउँछन् ।
निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवातर्फ ध्यान दिँदै आएको उनको भनाई छ । साह अगाडी भन्छन्, ‘डाइनामिकले अहिले चार वटा सफ्टवेयर प्रडक्ट बजारमा ल्याएका छन् । स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमी इआरपी, व्यवसायकी अफिस म्यानेजमेन्ट र विभिन्न सङ्घसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।
अब डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरू लाई नेपाल भारतको बजारमा मात्र सीमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने उनले बताए । तत्काल भुटान, बङ्गलादेश लगायतका एसियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।
आफूमा काम गर्ने इच्छा शक्ति र इमानदारीताका साथ मेहनत गर्ने हो भने कामको खोजीमा युवाहरूले विदेश पलायन हुनुपर्ने अवस्था नभएको साह बताउँछन् । रातदिन खटिएर काम गर्ने हो भने सानो लगानीमा नै नेपालमा सफल उद्यमी बन्न सकिने साहको भनाइ छ ।

