वीरगंज,५ बैशाख – पर्सा प्रहरी चरम राजनितिक दवाबमा परेसँगै नेशनल मेडिकल कलेजको म्याद गुज्रिएको केमिकल प्रयोग प्रकरणको मुद्दा कमजोर बन्दै गएको छ । म्याद गुज्रिएको केमिकल प्रयोग गरी रहेकै अवस्थामा रंगेहात पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी र ल्याब प्रमुख सञ्जय साहलाई प्रहरीले हाजरी जवानीमा छाडेसँगै मुद्दा कमजोर बन्दै गएको हो ।
चैत २६ गते पक्राउ परेका दुवै जनालाई प्रहरीले पहिलो पटकका लागि २ दिन र दोस्रो पटक लागि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न पर्सा अदालतबाट अनुमती प्राप्त गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय पर्साले दुवै जनालाई एक दिन पनि हिरासतमा राख्न सकेन् । पक्राउ परेकै दिन दुवै जनालाई बिरामी भएको देखाएर अस्पताल भर्ना गरिएको थियो भने दोस्रो पटक म्याद थप भएकै दिन हाजरी जबानीमा उपस्थित गराउँने भन्दै चैत २८ गते प्रहरीले दुवैलाई छाडेका थिए ।
वीरगंज महानगरपालिका,जिल्ला प्रशासन कार्यालय पर्सा,वाणिज्य कार्यालय पर्सा,घरेलु तथा सना उद्योग कार्यालय पर्सा,वीरगंज उद्योग वाणिज्य संघ,औषधी बिभिाग कार्यालय वीरगंज,वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरु सहभागी रहेको सयुक्त अनुगमन टोलीले कलेजमा अनुगमनको क्रममा म्याद गुज्रिएको औषधी र केमिकल कलेजले प्रयोग गरी गम्भीर किसिमको त्रुटी गरेको एवं आम जनताको स्वास्थ्यमाथी खेलवाड गरी रहेको फेला पारेको थियो । सोहि क्रममा प्रहरीले कलेजका प्रबन्ध निर्देशक अंसारी र ल्याव प्रमुख साहलाई पक्राउ गरेको थियो ।
छातीमा दुखाई र उच्चरक्त चाप रहेको भन्दै पक्राउ परेकै दिन बेलुका चेकजाँचका लागि दुवै जनालाई नारायणी अस्पतालमा प्रहरीले लगेसँगै थुनामा जान नदिन कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी एवं कलेज प्रशासनले खेल शुरु गरेको थियो । शुरुमा बहादुरी देखाएको जिल्ला प्रहरी कार्यालय पर्साले बिस्तारै दवाव झेल्न नसक्दा राती नै वीरगंज मेडिसिटी ब्योधा अस्पताल र सो पश्चात गण्डक चौकमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा उनीहरुलाई भर्ना गराएका थिए । शुरुमा कलेजका अध्यक्ष डा. जैनुदिन अंसारीले छोरालाई नारायणी अस्पतालमा उपचार सम्भव नहुने भन्दै आफ्नै कलेजको सघन कक्षमा भर्ना गर्न दवाव दिएका थिए । तर प्रहरी नमानेपछि व्योधा एवं वीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।
म्याद गुज्रिएको औषधी र केमिकल प्रयोग गरी कालोबजारी गरेको एवं आम जनताको स्वाथ्यसँग गम्भीर खेलवाड गरेको भन्दै उपभोक्ता हकहित संरक्षण मञ्चले पक्राउ परेका दुबै जना उपर कारवाहीका लागि उजुरी समेत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराई सकेका छन् ।
तर प्रहरीले दोस्रो पटक म्याद थप भएकै दिन दुबैलाई छाडेका थिए । अवस्था गम्भीर रहेको भन्दै अस्पतालको आइस्यूमा भर्ना रहेका प्रबन्ध निर्देश साहलाई मध्यरात १ बजे आईस्युबाट निकालिएको थियो । त्यसको भोली पल्ट नै उनी ठिकठाक रहेको फोटोहरु समाजिक संजालमा देखिनु एवं ईद सेलिब्रेट गरी रहेको फोटोहरु भाइरल हुनुले पनि उनी स्वस्थ रहेको तथा बिरामीको नाटक मात्र गरेको प्रष्ट हुन्छ ।
दोस्रो पटक म्याद थप लिनु पर्ने दिन मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको भन्दै म्याद थप नगिएको प्रहरीको भनाई छ । तर मंगलवारसम्म पनि म्याद थप नहुनुले मुद्दा कमजोर गर्ने खेल भइरहेको बुझिन्छ । कालोबजारीमा बढीमा २२ दिन भित्र प्रहरीले अदालतमा मुद्दा गर्नु पर्ने हुन्छ । सो अवधी कटे मुद्दा त्यतीकै नै कमजोर हुने हुन्छ । अनुमगनको नेतत्व गरेको वीरगंज महानगरपालिकाले पनि दोषीलाई कारवाही गराउँन कुनै ठोस पहल कदमी लिएको देखिदैन् । पर्साका कुनै राजनितिक दलका नेताहरुले समेत कलेजको मुद्दामा आफ्नो मुख खालेका छैनन् ।
यी तमाम गतिधिहहरुले पैसा र पावर भए जे पनि गर्न सकिन्छ भने कुरालाई पर्सा प्रहरीले एक पटक फेरी हवा दिन खाजेको देखिन्छ । हाजिरी जवानीमा छोडने अधिकार प्रहरी अधिकृतलाई रहेको भएपनि मुद्दालाई कमजोर बनाउने काम चाही गर्न नहुने हो । यो सबै प्रकरणलाई नजिकबाट नियाली रहेका आम जनतालाई अब कारवाही हुनेमा अंका उत्पन्न भएको छ ।
कलेज प्रशासनले बिज्ञप्ती निकालेर अटो एनालाइजर मेसिनले म्याद गुज्रिएको केमिकल आफै अटो रिजेक्ट गर्ने भएको हुँदा प्रयोग गर्ने कुरा नै गल्त भएको बताएको थियो । तर बिज्ञहरुका अनुसार कुरा सहि भएपनि मेसिनलाई म्याद भएको केमिकलको बोतल देखाउँने र प्रयोग म्याद गुज्रिएको केमिकल गरिएको हुन सक्छ । यसरी हेर्दा कलेजका प्राविधिकहरुले मेसिनलाई पनि धोका दिएका देखिन्छ । अनुमगनको क्रममा ३३ प्रकारका म्याद गुज्रिएका केमिकल एवं झण्डै ४० प्रकारका म्याद गुज्रिएका औषधीहरु फारमेर्सीमा बरामद भएको थियो ।
पछिल्लो पटक थप अनुसन्धान प्रक्रिया कसरी अगाडी बढी रहेको बिषयमा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले केहि बोल्न चाहनन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बाहिर भएको मान्छेलाई म्याद थप नहुने एवं अन्य थप अनुसन्धानहरु जारी रहेको बताए । उनले कति दिन भित्र मुद्दा अदालतमा पेश गर्ने भन्ने बिषय हेर्नु पर्ने भन्दै थप प्रतिक्रिया दिन चहेनन् ।
कलेजको मुद्दा दवाउन ठूलो आर्थिक चलखेल भइरहेको बजारमा हल्ला छ भन्ने प्रश्नमा उनले त्यतो नहुने र बजारका हल्लामा हामीले केहि प्रतिक्रिया दिन नसक्ने बताए । यता दोषीहरु आफ्नो समान्य जिवनमा सहभागी छन् ।

