काठमाडौँ, १३ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा (मुकुलुंग) क्षेत्रमा प्रस्तावित केबलकार परियोजना खारेज गर्न माग गरेका छन् । आइतबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष महतोले पाथीभरा क्षेत्र नेपालीहरूको आस्था, परम्परा, र पहिचानको प्रतीक भएकाले यसको प्राकृतिक स्वरूप जोगाउनुपर्ने बताएका छन् ।
स्थानीयवासीहरूले ‘नो केबलकार समूह’ गठन गरी परियोजनाको विरोध गरेका थिए। प्रहरी हस्तक्षेपपछि विवाद चर्किँदा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती गम्भीर घाइते भएका छन्। शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै अध्यक्ष महतोले प्रहरी हस्तक्षेपको कडा आलोचना गरेका छन् ।
महतोले पाथीभरा जस्तो पवित्र स्थललाई आर्थिक नाफाको स्रोतका रूपमा प्रयोग गर्नु अनुचित भएको भन्दै यो क्षेत्रको मौलिकता र सांस्कृतिक महत्वलाई जस्ताको तस्तै राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले विकासका हरेक गतिविधि स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको सम्मानमा आधारित हुनुपर्ने उल्लेख गर्दै, आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादबाट समस्याको समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

