काठमाडौं,१६ वैशाख । कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई राजधानीको बल्खु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा झापा हल्दिवारी गाउँपालिका–२ घर भई ३० वर्षीय विशाल कुमार तामाङ रहेका छन्। उनी २०७३ साल भदौ ७ गते काठमाडौं नक्साल निवासी १८ वर्षीय सागर पाण्डेको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा फरार थिए।
घटना भएको करिब ९ वर्षपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
प्रहरीका अनुसार पुरानो जघन्य अपराधका फरार अभियुक्तहरूलाई पक्राउ गर्न विशेष निगरानी तथा खोजी अभियान जारी राखिएको छ।

