काठमाडौँ,१६ वैशाख । एभरेष्ट कलर लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को पहिलो चरणअन्तर्गत आजदेखि सेयर आवेदन खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ। यो चरणमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले मात्र आवेदन दिन सक्नेछन्।
निवेशकहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको आस्बा सेवा वा सी–आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ। साथै, मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सकिने पनि व्यवस्था गरिएको छ।
आईपीओ छिटोमा वैशाख २२ गतेसम्म खुला रहनेछ भने मागअनुसार आवेदन नपरेमा ढिलोमा वैशाख ३० गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
यस निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल ले सम्हालेको छ।
यो आईपीओलाई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बजारसँग जोड्ने अवसरका रूपमा हेरिएको छ।

