सर्लाही,१६ वैशाख । बागमती नगरपालिका–१२ स्थित भरत ताल आसपास मानव कङ्काल फेला परेको छ। स्थानीयले घाँस काट्ने क्रममा ढुङ्गा र गिट्टी थुपारिएको स्थानमा कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार शव टाउको छुट्टिएको र शरीर पनि क्षतविक्षत अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुमानअनुसार शव पुरुषको हुन सक्ने देखिएको छ, यद्यपि आधिकारिक पहिचान खुलिसकेको छैन।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनले कङ्काललाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन्।
प्रहरीले मृतकको पहिचान र घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

