सुशासन र समृद्धिका लागि ईमानदारीपूर्ण प्रयास आवश्यक छ : प्रधानमन्त्री

spot_img

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उनले जनताप्रति इमानदारिता र जिम्मेवारीको महत्त्वमा जोड दिए।

प्रधानमन्त्रीले जनताको सहभागिता र राजनीतिक दलको नेतृत्वमार्फत लोकतन्त्र स्थापना भएको उल्लेख गर्दै अब शान्तिसुरक्षा, सुशासन, र समृद्धि कायम गर्न सबैले कटिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे। उनले सांसदहरूले जनताको पक्षबाट न्यायपूर्ण कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै सरकारलाई म मात्र सर्वेसर्वा हुँ भन्ने भ्रमबाट टाढा रहन आग्रह गरे।

“संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ र सम्बन्धित निकायहरूले त्यसको पालना गर्नुपर्छ। लोकतन्त्रमा कानुनको पालना गर्ने अभ्यास अझै महत्त्वपूर्ण हुन्छ,” प्रधानमन्त्री ओलीले भने। उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपाल निर्माणमा कानुन व्यवसायीहरूको सहयोगको अपेक्षा व्यक्त गरे।

युवा कानुन व्यवसायीहरूको न्यून पारिश्रमिकको समस्याबारे पनि प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउँदै सुधारका लागि सरकारले प्रतिबद्धता जनाएको बताए। सम्मेलनमा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो। प्रधानमन्त्रीले सम्मेलनका निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै कानुन व्यवसाय र युवाहरूको विकासमा सरकारले उचित ध्यान दिने आश्वासन दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय