काठमाडौं,३० जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि अवस्थामा अन्य राजनीतिक दलसँग विलय नहुने स्पष्ट पारेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे। उनका अनुसार पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दो क्रममा छ र यसले संगठनलाई थप उत्साहित बनाएको छ।
घिसिङले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी सशक्त रूपमा अघि बढ्ने बताए। उनले भने, “हामी स्थानीय, प्रदेश र संघीय चुनावमा सशक्त रूपमा उभिनेछौँ, र आगामी संघीय निर्वाचनपछि देशको नेतृत्व गर्ने लक्ष्य छ।”
उनले पार्टी प्रवेश गर्नेहरूप्रति विश्वास कायम रहने बताउँदै उज्यालो नेपाल पार्टीलाई देशको वैकल्पिक राजनीतिक शक्ति बनाउने दाबी गरे।
“पार्टीको अस्तित्व कायम राख्दै अन्य विचार र समूहलाई पनि समेट्दै जानेछौँ,” उनले भने, “नयाँ र पुराना दुवै दलबाट धेरै साथीहरू पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ।”
पछिल्लो निर्वाचन परिणामलाई उल्लेख गर्दै उनले असफलताबाट निराश नभई अझै मजबुत भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।




