काठमाडौं, २ फागुन । जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा ६९औं स्थानमा परेको छ ।

यो सूची जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिहरू जस्तैः बाढी, पहिरो, खडेरी, अत्यधिक वर्षा, तातो–चिसो लहर आदिले विभिन्न देशहरूलाई पुर्याएको असरका आधारमा तयार गरिन्छ ।
सीआरआई २०२५ अनुसार नेपालमा जलवायुसँग सम्बन्धित विपदमा परी हरेक वर्ष औसत २४९.७ जनाले ज्यान गुमाउने गर्दछन् । प्रति एकलाख जनसंख्यामा ०.१८९ जनाको मृत्यु हुने गरेको छ भने ७५ हजार ८४० जना प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।
यसका साथै, जलवायुजन्य विपत्तिहरूका कारण नेपाललाई वार्षिक रूपमा २२१.३ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनले देखाएको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.२५८ प्रतिशत हो ।
नेपालको अवस्था सुधारोन्मुख ?
क्लाइमेट रिस्क इन्डेक्स (सीआरआई) रिपोर्ट जलवायु परिवर्तनका कारण हुने चरम मौसमजन्य घटनाका आधारमा तयार गरिन्छ ।
रिपोर्ट तयार गर्ने क्रममा अन्तर्राष्ट्रिय विपद डाटाबेसको तथ्यांक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को आर्थिक आँकडाको विश्लेषण गरिन्छ । यो सूचकांक तयार पार्दा चरम मौसमी घटनाका संख्या, त्यसमा परी प्रति एक लाख जनसंख्यामा हुने मृत्यु दर र जीडीपीमा परेको आर्थिक घाटालाई आधार मानिन्छ ।
रिपोर्ट सार्वजनिक गर्नुको उद्देश्य जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्ने, कमजोर राष्ट्रहरुलाई जलवायु अनुकूलनका नीति तथा रणनीति तयार पार्न सघाउ पुर्याउनु हो ।
यदि विगतका रिपोर्टहरूलाई हेर्ने हो भने नेपाल हरेक रिपोर्टमा जलवायुजन्य विपदका घटनामा सधैं जोखिमयुक्त देशको सूचीमा परेको देखिन्छ ।
काठमाडौं उपत्यकामा बाढी
सीआरआई २०१७ मा नेपाल जोखिम देशहरुको सूचीमा चौथो स्थानमा थियो, जसले नेपाल चरम मौसमजन्य घटनाबाट विश्वकै सबैभन्दा प्रभावित देशहरूमध्ये एक भएको संकेत गर्दथ्यो । सीआरआई २०२१ मा भने नेपाल १०औं स्थानमा झरेको थियो र अहिले सीआरआई २०२५ मा ६९ औं स्थानमा छ ।
यसको अर्थ नेपालमा जलवायुजन्य विपत्तिको प्रभाव तुलनात्मक रूपमा कम देखिएको छ । तर, विज्ञहरू सीआरआई रिपोर्टमा लेखिएभन्दा वास्तविकता फरक रहेको बताउँछन् ।
विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नेपालमा लस एन्ड ड्यामेजको क्षतिको तथ्यांक राख्ने प्रणालीमै प्रश्न उठ्ने गरेकाले पनि वास्तविकता फरक रहेको बताउँछन् ।
उनका अनुसार गृह मन्त्रालयको वेबसाइटमा उपलब्ध सन् २०१२ देखि सन् २०२४को अवधिको विवरण केलाउँदा बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी र भारी वर्षाका ४४ हजार घटना भएका छन् । ती घटनामा परी ५ हजार ६६७ जनाको मृत्यु भएको छ ।
९२२ जना बेपत्ता छन् भने १५ हजार जना घाइते भएका छन् । ४२ हजार भौतिक संरचनामा क्षति पुगेको छ भने पशुचौपायाको क्षतिको संख्या २४ हजार छ ।
‘जलवायुजन्य विपदका यी सबै घटनाबाट ४९ अर्ब रुपैयाँ बराबरको क्षति नेपालले व्यहोरेको छ । यसमा भूकम्प थप्ने हो भने यसको ग्राफ बेग्लै हुन्छ,’ विपद्विज्ञ डा. उप्रेती भन्छन् ।
सीआरआई २०२५ रिपोर्ट डेटा सिस्टममा आधारित हुन्छ । लस एन्ड ड्यामेजको डेटा नेपालले कति दिन सक्यो र उसले कति लिन सक्यो भन्ने कुरामा क्षतिको विवरण निर्भर हुने उप्रेती बताउँछन् ।
यी हुन् सबैभन्दा बढी प्रभावित देश
जर्मनवाच नामको संस्थाको रिपोर्टमा लेखिएअनुसार विगत ३० वर्षको अवधिमा विश्वभर ९ हजार ४०० जति चरम मौसमी विपद्का घटनाहरु भएका छन् । यी घटनामा परी विश्वभर ८ लाख व्यक्तिले ज्यान गुमाएका छन् ।
साथै विश्वको अर्थव्यवस्थामा ४,२०,००० करोड डलर अर्थात् ५८ खर्ब २७ अर्ब ८ करोड नेपाली रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
जलवायुजन्य विपत्तिबाट सबैभन्दा बढी प्रभावित १० देशहरुको सूचीमा क्यारेबियन द्वीपमा पर्ने डोमिनिका पहिलो नम्बरमा छ । त्यसपछि क्रमशः चीन, होन्डुरस, म्यानमार, इटली, भारत, ग्रिस, स्पेन, भानुआटु र फिलिपिन्स छन् ।