काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ऋणीहरूप्रति हुने व्यवहारलाई कडा आलोचना गरेका छन्। बैंकहरूले अप्ठ्यारोमा परेका ग्राहकलाई सहयोग गर्नुको साटो झन् दबाब दिने प्रवृत्ति देखाएको भन्दै उनले बैंकहरूलाई ‘खराब साहु’ जस्तो नबन्न चेतावनी दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बैंकहरूको ऋण असुली प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।
प्रधानमन्त्री ओलीले भने, ‘ऋणीलाई अप्ठ्यारो परेको बेला झन् घाँटी निचोर्ने होइन, बरु व्यवसायलाई टिकाइ राखेर ऋण उठाउने तरिका अपनाउनु पर्छ।’ उद्योगी-व्यवसायीहरूले संकटमा परेका बेला बैंकहरूले सहयोग गर्नुको साटो हतार-हतार ऋण असुली गर्न खोज्ने प्रवृत्ति गलत भएको उनको भनाइ थियो ।
उद्योगीहरूलाई कठिन अवस्थामा बैंकहरूले थप सहयोग गर्नुपर्नेमा जोड दिँदै ओलीले भने, ‘यदि कोही ऋण तिर्न नचाहेर भागेको हो भने कुरा बेग्लै हो, तर कतिपय अवस्थामा परिस्थितिले पनि मानिसहरूलाई ऋण तिर्न असमर्थ बनाउँछ। यस्तो अवस्थामा बैंकहरूले दयालु नीति अपनाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले बैंकहरूलाई सुझाव दिँदै भने, ‘यदि कोही डुब्न लागेको छ भने, उसलाई उठाएर टिकाइ राख्नुपर्छ। एकपटक डुबिहाल्यो भने ऋण कहाँबाट तिर्छ?’ बैंकहरूले संयमित भएर दीर्घकालीन सोच राख्दै व्यवसायलाई जोगाउने नीति अपनाउनुपर्ने उनको धारणा थियो ।
उनको भनाइले बैंकिङ प्रणालीमा सुधार आवश्यक रहेको संकेत गरेको छ। अब बैंकहरूले ऋणीहरूप्रति आफ्नो नीति के कस्तो बनाउँछन् भन्ने हेर्न बाँकी छ।

