काठमाडौं,११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। सोमबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भए पनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त हुन नसकेको बताए।
उनले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए। निर्माण व्यवसायीको योगदान बिना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको उनको भनाइ छ। विश्व अर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाखभन्दा बढीलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन कानुन आवश्यक रहेको उनले बताए।
सभापति देउवाले भुक्तानी समस्या, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज रूपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताए। उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजनाहरू सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

