‘माननीय’ सम्बोधन नलेख्न रास्वपाको निर्देशन

spot_img

काठमाडौँ,१६ वैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। साथै लेटरहेड, भिजिटिङ कार्डलगायतका आधिकारिक कागजातमा एकरूपता कायम गर्न पनि पार्टीले जोड दिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकपछि प्रवक्ता मनिष झाले सांसदहरूलाई सरल र मर्यादित पहिचान अपनाउन यस्तो निर्देशन दिइएको जानकारी दिएका छन्। पार्टीले सांसदहरूलाई अझै सिक्ने चरणमा रहेको भन्दै मेन्टर र सल्लाहकारसँग सहकार्य गर्न समेत सुझाव दिएको छ।

आगामी निर्वाचन लक्षित गर्दै वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने तयारीसमेत रास्वपाले गरेको छ। सो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार छनोट र पूर्वतयारीका विषयमा प्रशिक्षण दिइनेछ। यसै सन्दर्भमा कसैले पनि आगामी चुनावको टिकटबारे अग्रिम प्रतिबद्धता नदिन पार्टीले चेतावनी दिएको छ।

निर्देशनविपरीत गतिविधि भए कडा कारबाही गरिने पनि रास्वपाले जनाएको छ।

यसअघि पार्टीकै सांसद विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र आचरणसम्बन्धी बहस चर्किएको थियो। त्यसैको पृष्ठभूमिमा पार्टीले यस्तो निर्देशन जारी गरेको बुझिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय